सुचना, समाचार र मनोरन्जन

‘पाँच पाण्डव’को फर्स्टलुक सार्वजनिक: महाभारतका पात्र र समकालीन समाजको कथा

काठमाडौँ :

मल्टिस्टारर नेपाली चलचित्र ‘पाँच पाण्डव’को आकर्षक फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले बिहीबार पोस्टर सार्वजनिक गर्दै चलचित्रका मुख्य पात्रहरूको लुक्स सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा महाभारतका पाँच पाण्डवको चरित्रमा आधारित भएर मुख्य पाँच कलाकारलाई प्रस्तुत गरिएको छ। पोस्टरमा हरिवंश आचार्य युधिरिष्ठर, जितु नेपाल भीम, आर्यन सिग्देल अर्जुन, महेश त्रिपाठी नकुल र सुशील सिटौला सहदेवको भूमिकामा देखिएका छन्। सजिएको बग्गीमा प्रफुल्ल मुद्रामा देखिएका यी पात्रहरूले उनीहरूबिचको एकता, मिलन र भाइचारालाई झल्काउँछन्।

निर्देशक वसन्त निरौलाका अनुसार क्यारेक्टर रिभिल गर्ने उद्देश्यले पोस्टर सार्वजनिक गरिएको हो। “हामीले कतै देखिरहेका पात्र र लुक्स भएकाले यी क्यारेक्टर दर्शकमाझ चाँडै लोकप्रिय हुने र सिनेमाप्रतिको पर्खाइ थप बढ्नेमा हामी विश्वस्त छौँ,” उनले भने।

Gandarbha

तिहारको अवसर पारेर आगामी कात्तिक २० गते (नोभेम्बर ६) देखि देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रको हाल पोस्ट-प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ। नेपालमै पहिलोपटक पूर्ण रूपमा ‘डल्बी एटमस’ साउन्ड प्रविधिमा तयार भइरहेको यो चलचित्रबाट दर्शकले उत्कृष्ट श्रव्य दृश्य अनुभव लिन सक्ने निर्देशक निरौलाको दाबी छ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा मुख्य पाँच पाण्डवका अलावा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सीता न्यौपानेलगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

चलचित्रका प्रस्तुतकर्ता गत वर्षको चर्चित चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठ हुन् भने काली रानी श्रेष्ठले यसको निर्माण गरेकी हुन्। सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको यो चलचित्र ‘सोसल ड्रामा’ विधामा बनेको छ। लेखक पौडेलका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवको चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा भन्नेछ।

श्याम तामाङको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग सम्पादन रहेको चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र सुजिल कर्माचार्यको पार्श्व सङ्गीत (BGM) रहेको छ। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले यस चलचित्रको देशव्यापी वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.