सुचना, समाचार र मनोरन्जन

देशको १३ शहरका सांगीतक टुर गर्दै प्रकाश सपुत, प्रमोदसहित परम्परा र फिरन्ते

काठमाडौं :

गायक ‘प्रकाश सपुत र भाका नेपाल’, ‘प्रमोद र परम्परा ब्याण्ड’ तथा ‘फिरन्ते ब्याण्ड’ले एकसाथ सांगीतिक टुर गर्ने भएका छन्। ‘सुरताल म्युजिकल टुर २०८३’ नाम दिइएको सांगीतिक टुर देशका ७ वटै प्रदेशका १३ प्रमुख शहरहरूमा आयोजना हुने भएको हो।

यहि असोज १० गते धनकुटाको हिलेबाट सुरु हुने यस सांगीतिक यात्रा सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको हो। जसमा दर्शकहरूले नेपाली संगीतका बहुचर्चित हस्तीहरूको लोकप्रिय तथा नयाँ गीतहरुबाट मनोरञ्जन लिन पाउनेछन्। टुरमा कलाकारहरूले दर्शकलाई परम्परागत कन्सर्ट भन्दा भिन्न र अविस्मरणीय अनुभव दिलाउने तयारी गरेका छन्।

टुरमा प्रकाश सपुतका चर्चित एवं सन्देशमूलक गीतहरूसँगै प्रमोद र परम्परा ब्याण्ड तथा फिरन्ते ब्याण्डको ऊर्जावान् लाइभ प्रस्तुति रहनेछ। प्रकाश सपुत यस पटक ट्र्याकमा भन्दा पनि भाका नेपाल ब्याण्ड सहित लाइभ प्रस्तुतिमा देखिनेछन्। कार्यक्रमलाई अझ भव्य बनाउन अत्याधुनिक साउण्ड, भव्य लाइट,लाइभ इन्स्ट्रुमेन्ट तथा गीतको भावअनुसार कोरस डान्स र मञ्चीय अभिनयलाई समेत संयोजन गरिने आयोजकले जनाएको छ। दर्शकलाई सांगीतिक माहोलमा बाँधिराख्न कार्यक्रम निशा पन्थीले संचालन गर्नेछिन्।

यो कार्यक्रम सांगीतिक मनोरञ्जन मात्र नभई कलाकारहरू सामाजिक उत्तरदायित्वमा समेत जोडिएका छन्। कार्यक्रमको खर्च कटाएर हुने सम्पुर्ण आम्दानीको २० प्रतिशत रकम बाढी तथा विपद् प्रभावित नागरिकको राहत र पुनस्र्थापनाका लागि प्रदान गरिने आयोजकले जानकारी दियो। यसअघि पोखराबाट सुरु हुने तयारी गरिएको टुर बाढीका कारण उत्पन्न परिस्थितीका कारण पोखरा र धरानका कार्यक्रम हाललाई स्थगित गरी हिलेबाट सुरु गर्न लागिएको सुरताल इभेन्टका अध्यक्ष प्रशान्त सुनारले बताए।

उनले भने,‘यो सांगीतिक अभियान केवल मनोरञ्जनमा सीमित नभई विपद्को समयमा नागरिकसँग एकाकार हुने र नेपाली मौलिक संगीतलाई देशका कुना–काप्चासम्म पुर्‍याउने साझा संकल्प हो।’

असोज १० मा धनकुटा (हिले)बाट भब्य उद्घाटन सहित सुरु हुने कार्य १४ गते तेह्रथुम, १७ खाँदबारी, १९बर्दिबासमा पुगेर सकिनेछ। त्यसपछि मंसिर २ गते महेन्द्रनगरबाट सुरु हुने दोस्रो चरणको कार्यक्रम ५ गते धनगढी, ८ गते नेपालगञ्ज, १२ गते सुर्खेत, १६ गते तुलसीपुर, १९ गते बुटवल र २६ गते चितवनमा आयोजना हुनेछ। त्यसपछि पोखरा र धरानसँगै कार्यक्रम सकिनेछ।देशका विभिन्न भूगोल र दर्शकमाझ नेपाली संगीतको मौलिक सुर र ताल पस्कन कलाकारहरूको टोली पूर्ण तयारी समेत सकिसकेको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.