सुचना, समाचार र मनोरन्जन
jaar

आँवुखैरेनिको तरकारीको जिम्मा गाउँपालिकाले लिने

तनहुँ/

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीको लाब्दी भोटेस्वाँरामा उत्पादित साग र गुन्द्रुक स्थानीय बजारमा खपत हुँदै आएको छ । यस क्षेत्रमा उत्पादित साग र गुन्द्रुक स्थानीय आँबुखैरेनी बजारमा सहजै बिक्री हुँदै आएपछि यहाँका किसान खुशी भएका छन । किसानले उत्पादन गरेका तरकारी बिक्री नभएमा गाउँपालिकाले जिम्मा लिने जनाएपछि यहाँका किसान व्यावसायिक उत्पादनमा लागेका हुन ।

समुद्र सतहदेखि झन्डै दुई हजार मिटर उचाइमा रहेको यस ठाउँमा रैथाने अर्गानिक रायो साग खेती गरिएको हो । यस वडाका २० घरधुरीले झन्डै ३० रोपनी क्षेत्रफलमा साग खेती गरेका स्थानीय किसान आशिक गुरुङले जानकारी दिए। सागको प्रतिमुठा ५० र गुन्द्रुकको प्रतिमुठा एक सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ । उपभोक्ताले यो मूल्यमा खुशी भएर लैजाने गरेका छन ।

दैनिक दुई–तीन सय मुठा साग बिक्री हुँदै आएको किसानहरू बताउँछन । गाउँपालिकाले बिक्री गर्न थालेपछि व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएका स्थानीय किसान एवम् वडा सदस्यसमेत रहनुभएका लक्ष्मण गुरुङले बताए । आफूले यस वर्ष पाँच रोपनी बढी क्षेत्रफलमा साग खेती गरेर उत्पादन गरेसँगै बिक्रीको समस्या नरहेको उनले जानकारी दिए । शुरुमा आफ्नो परिवारका लागि खेती गर्ने गरिए पनि गाउँपालिकाले संरक्षण गर्ने भएपछि स्थानीय किसान उत्साहित भएर लागेका हुन ।

झन्डै १५ दिनको अवधिमा एक लाख रुपैयाँ बढीको साग र गुन्द्रुक बिक्री गरिसकिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उत्पादित साग दैनिक तरकारी पसलमा बिक्री गर्ने गरिए पनि हप्तामा एक दिन आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको हाटबजारमा बिक्री गर्न थालिएको छ । शुरुमा थोरै जग्गामा खेती गरिए पनि अहिले कृषिलाई प्रवर्द्धन गर्न व्यावसायिक रूपमा अघि बढाइएको वडाध्यक्ष गुरुङले बताए ।

किसानले उत्पादन गरेका वस्तु स्थानीय जनप्रतिनिधिको समन्वयमा बजारसम्म पुर्‍याउन सहजीकरण हुँदै आएको छ । किसानले उत्पादन गरेका वस्तुले बजार पाएन भने गाउँपालिकाले जिम्मा लिने प्रतिबद्धता जनाएपछि किसान उत्साहित भएर उत्पादनमा लागेका आँबुखैरेनी कृषि शाखाका प्रमुख सन्तोष केसीले जानकारी दिए ।

गाउँपालिकाले किसानलाई बिउमा अनुदानका साथै बजारमा बिक्री नभएको अवस्थामा आफूले जिम्मा लिने प्रबन्ध मिलाइएको छ । चिसो मौसममा गुन्द्रुक फाइदाजनक हुने भएकाले माग बढ्न थालेको छ । माग बढेपछि गुन्द्रुक बनाउन थालिएको छ । यहाँको गुन्द्रुक अमिलो र स्वादिष्ट हुने भएकाले अत्यधिक माग बढेको किसान बताउँछन् ।

स्थानीय किसानलाई उत्पादनसँग जोड्दै आयआर्जमा सबल बनाउने योजना अनुरूप ठाउँ र हावापानी सुहाउँदो खेतीलाई प्रवर्द्धन गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.