सुचना, समाचार र मनोरन्जन

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन वैशाख १६ र १७ गते काठमाडौँमा

काठमाडौँ/

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आउँदो वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने भएको छ । सम्मेलनका लागि यसअघि वैशाख ९ र १० गतेको मिति तोकिएकोमा विभिन्न कारणले गर्दा सरकारले अब १६ र १७ गते गर्ने भएको हो ।

सम्मेलनको संशोधित मिति टुङ्गो लागेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा लगानी सम्मेलन निर्देशक समितिका सदस्य सचिव सुशील भट्टले जानकारी दिएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

लगानी सम्मेलन आयोजना गर्न गठित निर्देशक समितिको दोस्रो बैठक आज बुधवार अर्थ मन्त्रालयमा बस्दैछ । अर्थमन्त्री डा। प्रकाशशरण महतको संयोजकत्वमा गठित निर्देशक समितिले सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गर्ने, लगानी वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने तथा सम्मेलनको समग्र पक्ष हेर्ने जिम्मेवारी पाएको छ ।

परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति, पर्यटन, उद्योग, कृषि, सहरी, सङ्घीय मामिलालगायत विषयगत मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थ सचिव, उद्योग सचिव र निजी क्षेत्रका तीन वटा छाता संस्थाका अध्यक्ष निर्देशक समितिमा रहेका छन् । लगानी सम्मेलनका लागि आवश्यक कानुनी तथा संरचनागत सुधार, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत भइरहेको छ । लगानी सम्मेलनका लागि कुन आयोजना सोकेस मा लैजाने भनेर छनोटको काम पनि अहिले चलिरहेको छ ।

Leave A Reply

Your email address will not be published.