सुचना, समाचार र मनोरन्जन

‘जनताको भावना पृथ्वीचोकमा छ, लखनचोक कहिलेसम्म रहला ?’

राष्ट्र गौरव अभियानले पोखरामा शुक्रबार पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक राख्नु जनभावनाको कदर हुने जिकिर गरेका छन् ।

पोखरा /

पोखराको पृथ्वीचोकमा लखन थापाको नभई पृथ्वीनारायण शाहको सालिक राखिनुपर्ने अडान एकथरी पोखरेलीको छ । अर्को एउटा पक्ष त्यहाँ सहिद लखन थापाकै सालिक यथावत हुनुपर्ने पक्षमा छ । पृथ्वीनारायण शाह वा लखन थापा कसको सालिक राख्ने भन्नेमा पोखरा विभाजित देखिन्छ ।

राष्ट्र गौरव अभियानले पोखरामा शुक्रबार पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक राख्नु जनभावनाको कदर हुने जिकिर गरेका छन् । राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रले पृथ्वीचोकमा जनताको भावना रहेकाले लखन थापाको सालिक लामो समय रहन नसक्ने बताए । ‘बीचमा सहिद लखन थापाको सालिक छ । आसपास बजारका पसलको ब्यानरमा पृथ्वीचोक लेखिएको छ,’ उनले थपे, ‘जनताको भावना पृथ्वीचोकमा छ, लखनचोक कहिलेसम्म रहला ? जबर्जस्ति सालिक राखेर, जबर्जस्ति शासन गरेर हुँदैन ।’

पृथ्वीनारायण शाह भौगोलिक एकीकरणकर्ता मात्र भएको दाबी गर्नु गलत भएको उनले बताए । भौगोलिक एकीकरणसँग भावनात्मक एकीकरण जोडिने र त्यसैले देश एकजुट हुने मिश्रको भनाइ थियो । पृथ्वीनारायण शाहलाई गाली गरेर माक्र्स र लेनिनलाई माला लगाउनेले देश बनाउन नसक्ने मिश्रको दाबी थियो । देशले पृथ्वीनारायण शाह मात्र नभएर देश बनाउने हुटहुटी भएका राजा महेन्द्रको योगदान बिर्सिन थालेको उनको गुनासो थियो । उनले राजा महेन्द्रको तुलना आधुनिक सिंगापुरका जन्मदाता मानिने ली क्युआन युसँग गरे । राजा महेन्द्र १० वर्ष बढी बाँचेको भए ली क्युआनभन्दा सक्षम प्रमाणीत गर्न सक्ने उनले दाबी गरे ।

उनले देश बिग्रनुमा राजनीतिकर्मी मात्र नभई जनता पनि दोषी रहेको र यो कुरा स्वीकार्न हिच्किचाउन नहुने बताए । राजनीतिकर्मी बिग्रिए चुनावबाट सच्याउन सकिने, जनता बिग्रँदा केही उपाय नरहेकाले जनता बिग्रन नहुने मिश्रको भनाइ थियो ।

राजनीतिक विश्लेषक सौरभले सहिद लखन थापाभन्दा नेपाल एकीकरण गरेर ठूलो योगदान पृथ्वीनारायण शाहको रहेको दाबी गरे । ‘लखन थापालाई सम्मान गर्नुपर्छ । निरंकुश संस्कारविरुद्ध लड्ने जनजातिको छोरा सहिद भयो,’ उनले थपे, ‘लखन थापाभन्दा पृथ्वीनारायण शाहको योगदान ठूलो छ । राज्य एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई जातिको हिसाबले हामी किन हेर्छौं ?’

उनले पृथ्वीनारायण शाहलाई कास्कीले न्याय गर्नुपर्ने आवश्यकता औंल्याए । ‘पण्डितहरुले न्याय नपाए कासी जानू भन्ने बनाए आफूहरु कासी जाने भएर । न्याय नपाए कास्की जानू हुनुपर्ने हो,’ सौरभले भने, ‘तर, कास्कीले पृथ्वीनारायण शाहलाई न्याय दिएन । न्याय दिनुस् । न्याय दिनुपर्ने छ ।’

इतिहासविद् हरिप्रसाद सोडारीले सालिक निर्माणले मात्र केही नहुने भएकाले सालिक वरपर दिव्यज्ञान राख्न सुझाव दिए । मार्क्सवादभन्दा पनि समृद्धि, एकताको बारेमा बोल्ने पृथ्वीनारायण शाहका दिव्यज्ञानबारे अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले नेपाल एकीकरण गरेर पृथ्वीनारयण शाहले देश दिएपनि सशस्त्र युद्द गर्नेले केही दिन नसकेको टिप्पणी गरे । ‘नुवाकोटमा जयन्त राणालाई मारेर पृथ्वीनारायण शाहले हामीलाई नेपाल दिए । २०५२ सालदेखि आन्दोलन गर्नेले के दिए ? गाउँबाट मात्र होइन सहरबाट युवा पनि हराइसके,’ उनले भने ।

राष्ट्र गौरव अभियानले पृथ्वीचोकमा जसरी पनि पृथ्वीनारायण शाहको सालिक राख्ने घोषणा गरेको छ । अभियानका संयोजक सिरोज विजय कोइरालाले लखन थापाको सालिक अन्य ठाउँमा स्थानान्तरण गरेर पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्ने घोषणा गरेका हुन् ।

उनले कम्तीमा २५ फिटदेखि ५० फिटसम्मको मूर्ति राख्ने दाबी गरे । ‘पृथ्वीचोकमा पृथ्वीनारायणको कम्तीमा २५ फिटदेखि ४०÷५० फिटको सालिक राख्ने घोषणा गर्दछु,’ उनले भने, ‘पोखराका मेयर साबलाई हामी सम्झाउने छौं । यत्रो देश दिनेलाई के दिनुपर्छ हामी उहाँलाई बुझाउने छौं । यहाँभन्दा ठूलो सालिक कहीँ हुने छैन ।’ कुनैबेला पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक संरक्षण गर्न नसक्ने जिल्ला प्रशासन कार्यालयको नेतृत्व आफूहरूले पोखरामा गरेको कार्यक्रम देखेर झस्किएको र थ्रेट महशुस गरेको कोइरालाले सुनाए ।

अभियानका प्रवक्ता अरूण गिरीले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राखेर उनको योगदानको सम्मान गरिनुपर्ने बताए । लखन थापाको सालिक पोखरा महानगरपालिकाले स्थानान्तरण नगरे आफूहरूले नै गर्ने उनको भनाइ थियो ।

कार्यक्रमको पूर्वसन्ध्यामा पोखराका तीन ठाउँबाट ¥याली निकालिएको थियो । राष्ट्र गौरव अभियानले चिप्लेढुंगाबाट पृथ्वीचोकसम्म, राप्रपा कास्कीले अमरसिंहचोकबाट पृथ्वीचोकसम्म र ठकुरी समाज नेपालले छोरेपाटनदेखि पृथ्वीचोकसम्म ¥याली निकालेको थियो ।

Leave A Reply

Your email address will not be published.