सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीको चीन भ्रमणका प्राथमिकता र एजेन्डा सार्वजनिक

काठमाडौँ/

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई उचाइमा पुर्‍याउने बताएका छन। आज प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले चीन भ्रमणको मुख्य विषय नै दुई देशबीचको सम्बन्धलाई नयाँ गति दिनेतर्फ केन्द्रित हुने बताएका हुन् ।

सांसद उदयशम्सेर राणाले प्रधानमन्त्रीलाई चीन भ्रमणका प्राथमिकता र एजेन्डा के हुन भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री दाहालले दुई देशको सम्बन्धलाई जोड दिँदै यसअघिका भ्रमणमा भएको सम्झौता कार्यान्वयनको विषय समेत अघि बढाउने बताए ।

यस्तै, नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउन भ्रमण केन्द्रित रहने प्रधानमन्त्रीको भनाई छ । यसबाहेक, नेपाल र चीनबीचको सीमा नाकाको सञ्चालनलाई प्रभावकारी बनाउनतर्फ ध्यान दिने समेत प्रधानमन्त्री दाहालको भनाई छ ।

‘यसैगरी सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि र व्यापार भ्रमणको मुख्य प्राथमिकता र एजेन्डा हुन्,’ प्रधानमन्त्रीले थपे, ‘विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी योजना समेत चीनको सहयोगमा अघि बढाउने योजना छ ।’ प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच अन्तर्देशीय बिजुली व्यापार, किमाथांका जलविद्युत आयोजना निर्माण जस्ता विषय मुख्य छन् ।

हालसम्म नेपाल र चीनबीच अन्तर्देशीय बिजुली व्यापार सम्झौता भएको छैन । नेपाल र भारतबीच मात्रै अन्तर्देशीय बिजुली व्यापार भइरहेको छ । यस्तै, बङ्गलादेशतर्फ ४० मेगावाट बिजुली बेच्ने सम्झौताको तयारी हुँदै छ । यसैबीच प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनसँग समेत बिजुली खरिद–बिक्री सम्झौता सम्पन्न भए उत्पादित बिजुली बेच्ने थप बाटो खुल्नेछ ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका आयोजनालाई समेत प्राथमिकतामा राख्ने तयारी भइरहेको बताइएको छ । हाल सञ्चालनमा रहेका नाकालाई प्रभावकारी ढंगबाट सञ्चालन गर्ने तथा थप व्यापारिक नाका निर्माणमा चीनको सहयोग माग्ने योजना नेपाली पक्षको छ ।

Leave A Reply

Your email address will not be published.