सुचना, समाचार र मनोरन्जन

आईसीसी महिला टी–२० विश्व कपकपको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित

काठमाडौँ/

आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ ।

सन् २०२४ मा हुने ग्लोबल टी–२० छनोट हुँदै विश्व कप खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन । जितसँगै थाइल्यान्ड फाइनलमा पुगेको छ भने उसले ग्लोबल छनोटमा स्थान बनाएको छ । मलेसियाको बाङ्गीमा थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा ५९ रनमा अलआउट भयो ।

नेपालका कविता कुँवरले अविजित १७ रन बनाइन् । कविता जोशी र अप्सरी बेगमले समान १०र१० रन जोडे । अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय पारी खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एकरएक विकेट लिए ।

आज भएको अर्को खेलमा यूएईले हङकङलाई ५७ रनले हराएर फाइनलमा पुगेको छ ।

प्रतियोगिताको उपाधिका लागि भोलि यूएई र थाइल्यान्डबीच खेल हुनेछ । यी दुवै टोली ग्लोबल टी–२० छनोटमा पुगेका छन् । सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा एसिया क्षेत्रबाट थाइल्यान्ड र यूएईले खेल्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.