काठमाडौं /
डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बने भने युरोपमा कस्तो असर पर्ला रु युरोपेली नेता र कूटनीतिज्ञहरू अमेरिकामा सम्भावित शक्ति परिवर्तनको सन्दर्भमा यस चुनौतीसँग जुध्ने तयारीमा छन्।
डोनाल्ड ट्रम्पले ओहायोबाट सिनेटर रहेका जेडी भान्सलाई आफ्नो उपराष्ट्रपतिका लागि छान्दा राष्ट्रपति बनेपछि ट्रम्पको अडान कस्तो रहन्छ भन्ने स्पष्ट सन्देश युरोपलाई पठाइएको छ।
युक्रेनमा रुसी आक्रमण, सुरक्षा चिन्ता र व्यापारिक मुद्दाहरू युरोपका लागि महत्त्वपूर्ण छन्। यी विषयहरूमा ट्रम्प राष्ट्रपति भएपछि उनको अडान के हुन्छ भन्ने युरोपको मुख्य चासो हो। जेडी भान्स युक्रेनलाई दिइने आर्थिक सहायताको आलोचनाका लागि परिचित छन्।
यस वर्षको म्युनिख सुरक्षा सम्मेलनमा उनले अमेरिकाले पूर्वी एसियामा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने कुरा युरोपले बुझ्नुपर्ने बताए। उनले भनेका थिए, ‘अमेरिकाको सुरक्षा नीतिले युरोपको सुरक्षा कमजोर भएको छ ।’
जर्मन चान्सलर ओलाफ स्कोल्ट्जको पार्टीका वरिष्ठ सिनेटर र जर्मन संसदमा सोशल डेमोक्र्याटका विदेश नीति प्रमुख निल्स स्मिडले बीबीसीसँग कुरा गर्दै रिपब्लिकन सरकार बनेपछि जेडी भान्सले अलग रहने अडान लिएमा र डोनाल्ड ट्रम्प “अप्रत्याशित” रहिरहेमा पनि अमेरिका नेटोमा रहने कुरामा आफू विश्वस्त भएको बताए ।
यद्यपि उनले ट्रम्प नेतृत्वको सरकारको कार्यकालमा नयाँ ‘व्यापार युद्ध’ सुरु हुने चेतावनी दिएका छन् । इयूका एक वरिष्ठ कूटनीतिज्ञले डोनाल्ड ट्रम्प चार वर्षसम्म राष्ट्रपति भइसकेकाले उनीबारे कोही पनि अञ्जान नभएको बताएका छन् ।
उनले भने, “ट्रम्प फेरि सत्तामा आए भने यसको अर्थ के हुन्छ भन्ने हामीले बुझेका छौं। उपराष्ट्रपतिको रूपमा उनीसँग को-को छ भन्ने कुराले फरक पार्दैन।”
उनले युरोपेली युनियनलाई आँधीको लागि तयारी गरिरहेको डुङ्गासँग तुलना गर्दै नाम न छाप्ने सर्तमा भने – ट्रम्पले जस्तोसुकै कदम चाले पनि भविष्यमा युरोपका लागि अवस्था कठिन हुने छ।
पछिल्लो दुई वर्षदेखि युद्धको पीडा भोग्दै आएको युक्रेनको सबैभन्दा ठूलो सहयोगी अमेरिका हो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस हप्ता भने, “म ट्रम्प राष्ट्रपति बन्ने कुराले डराउँदिन, मलाई आशा छ कि हामी सँगै काम गर्नेछौं।”
जेलेन्स्कीले रिपब्लिकन पार्टीका अधिकांश नेताहरूले युक्रेन र यसका नागरिकहरूलाई समर्थन गर्ने विश्वास व्यक्त गरे। पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साझा साथी हुन्। बोरिस जोनसनले युक्रेनको लागि आर्थिक सहायतालाई समर्थन गर्दछन् ।
हालै, जोनसनले रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा पूर्व राष्ट्रपति ट्रम्पलाई भेटे। यस बैठक पछि उनले सामाजिक सञ्जाल एक्समा लेखे “ट्रम्पले त्यो देशलाई समर्थन गर्न र गणतन्त्रको रक्षा गर्न कडा र निर्णायक निर्णयहरू लिनेछन् भन्नेमा कुनै शंका छैन।”
तर यदि यो भावना साँचो हो भने पनि यो भान्समामा पनि लागू हुन्छ भन्ने जरूरी छैन । युक्रेन विरुद्ध रुसको सैन्य अभियान सुरु हुनुभन्दा केही दिन अघि भान्सले पोडकास्टमा भनेका थिए “युक्रेनमा के हुन्छ भन्ने कुराको वास्ता छैन।”
केही समयअघि युक्रेनलाई दिएको ६० अर्ब अमेरिकी डलरको सैन्य सहायता प्याकेजमा ढिलाइ हुनुमा भान्सले महत्वपूर्ण भूमिका खेलेका थिए । “उनलाई मनाउन प्रयास गर्नु हाम्रो लागि महत्त्वपूर्ण छ,” किभमा रहेको थिंक ट्याङ्क इन्स्टिच्युट अफ वर्ल्ड पोलिसीका कार्यकारी निर्देशक येभेन महदा भन्छन्।
उनी भन्छन्, “ट्रम्पको पार्टीको सरकार इराक युद्धमा संलग्न थियो। हामी ट्रम्पलाई युक्रेन भ्रमण गर्न निम्तो दिन सक्छौँ ताकि त्यहाँ के भइरहेको छ र अमेरिकाले दिएको आर्थिक सहयोग कसरी प्रयोग भइरहेको छ भन्ने उनी आफैले देख्न सकुन् ।”
युक्रेनका लागि सबैभन्दा ठूलो प्रश्न हो – यसले अमेरिकाको नयाँ राष्ट्रपतिलाई कुन हदसम्म प्रभाव पार्न सक्छ। अमेरिकी राष्ट्रपति चुनावका बेला ट्रम्पको अप्रत्याशित अडान युक्रेनका लागि समस्या बन्न सक्ने कुरामा येभेन महदा सहमत छन्।
युरोपेली संघमा ट्रम्प र भान्स जोडीको सबैभन्दा प्रखर समर्थक हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान हुन् । ओर्बानले भर्खरै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटे । त्यसपछि उनले अमेरिकामा ट्रम्पलाई भेटे। ओर्बानको पुटिनसँग गहिरो सम्बन्ध छ।
ईयूका नेताहरूलाई लेखिएको पत्रमा ओर्बानले ट्रम्पले राष्ट्रपतिको चुनाव जिते भने आफूले ट्रम्पले पदको सपथ ग्रहण नगरेसम्म नपर्खने र छिट्टै रुस र युक्रेनबीच शान्ति वार्ताको माग गर्ने बताएका थिए। ओर्बानले आफ्नो पत्रमा “आफूसँग यसका लागि विस्तृत र ठोस योजना भएको” लेखेका छन् ।
भोलोडिमिर जेलेन्स्कीले यसै हप्ता भनेका थिए – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि यसै वर्ष नोभेम्बरमा हुने सम्भावित शान्ति सम्मेलनमा भाग लिनुपर्छ। उनले नोभेम्बरमा आफूसँग शान्तिको लागि “पूर्ण योजना तयार” हुने वाचा गरे। तर, उनले आफूमाथि पश्चिमा मुलुकबाट कुनै किसिमको दबाब नआएको पनि स्पष्ट पारे ।
भर्खरै, ओर्बानले तथाकथित “शान्ति मिसन” को एक भागको रूपमा रूस र चीनको भ्रमण गरे । त्यसपछि उनीमाथि युरोपेली परिषदको छ महिनाको अध्यक्षताको दुरुपयोग गरेको आरोप लगाइएको थियो।
ओर्बानको कार्यलाई ध्यानमा राख्दै युरोपेली आयोगका अधिकारीहरूलाई हंगेरीमा हुने बैठकहरूमा उपस्थित नहुन भनिएको छ।
यस वर्षको जुलाई १ मा हंगेरीले युरोपेली परिषदको ६ महिनाको अध्यक्षता पाएको छ। त्यसयता ओर्बानले युक्रेन, रुस, अजरबैजान, चीन र अमेरिकाको भ्रमण गरिसकेका छन् । उनले यसलाई ‘शान्ति अभियान’का लागि विश्व भ्रमण भनेका छन् ।
डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाले युरोपेली संघबाट स्टिल र आल्मुनियमको आयातमा आयात कर लगाएको थियो । तर, उनीपछि सत्तामा आएको जो बाइडेनको प्रशासनले यी आयात करमा रोक लगाएको थियो । तर ट्रम्पले सत्तामा आए सबै प्रकारका आयातमा १० प्रतिशत कर लगाउने प्रस्ताव गरेका छन् ।
व्यापारलाई लिएर अमेरिकासँगको नयाँ आर्थिक द्वन्द्वको सम्भावनालाई युरोपका अधिकांश देशहरूमा नराम्रो र विनाशकारी नतिजाको रूपमा पनि हेरिनेछ।
जर्मन संसदमा सोसल डेमोक्र्याटका विदेश नीति प्रमुख निल्स स्मिडले भने, “एउटा कुरा हामीलाई निश्चित रूपमा थाहा छ कि इयुमाथि दण्डात्मक करहरू लगाइनेछ । त्यसैले हामी अर्को चरणको व्यापार युद्धको लागि तयार हुनुपर्छ।”
यस वर्षको सुरुमा जेडी भान्सले सैन्य तयारीका लागि जर्मनीको आलोचना गरेका थिए। उनको मनसाय जर्मनीको “आलोचना” गर्नु थिएन। उनले हतियार उत्पादन गर्ने उद्योगको आधार पर्याप्त नभएको बताएका थिए ।
आगामी समयमा भान्सको भनाइले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीलाई युरोपको सुरक्षा सुनिश्चित गर्न प्रमुख भूमिका खेल्न थप दबाब दिन सक्छ।
फेब्रुअरी २०२२ मा युक्रेन विरुद्ध रूसको “सैन्य अपरेशन” पछि, जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले संसदमा आफ्नो भाषणमा यसलाई इतिहास परिवर्तन गर्ने घटना भनेका थिए । उनीमाथि युक्रेनलाई हतियार दिन हिचकिचाएको आरोप पनि लागेको छ ।
युक्रेन आक्रमणपछि संसदमा दिएको सम्बोधनमा ओलाफले हतियार निर्यातमा प्रतिबन्ध लगाएका थिए । उनले देशको रक्षा खर्च बढाउने र रुसबाट तेल र ग्यास खरिदमा प्रतिबन्ध लगाउने कुरा गरे ।
तर, जर्मनीका सहयोगीहरूले अमेरिकापछि युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने मामिलामा दोस्रो स्थानमा जर्मनी रहेको बताउँछन् । शीतयुद्धको अन्त्य पछि पहिलो पटक जर्मनीले छोटो अवधिको बजेट मार्फत रक्षा बजेट खर्च दुई प्रतिशत बनाउने लक्ष्यमा पुग्न सफल भएको छ।
जर्मन संसदमा सोसल डेमोक्र्याटका विदेश नीति प्रमुख निल्स स्मिड भन्छन्, “मलाई लाग्छ हामी सही बाटोमा छौं। हामीले सेनालाई पुनर्निर्माण गर्नुपर्छ, जसमा विगत १५ देखि २० वर्षदेखि कुनै ध्यान दिइएको छैन। ”
तर यी मामिलाहरूका पर्यवेक्षकहरू पर्दा पछाडि युरोपको तयारी गम्भीर वा पर्याप्त छ भन्ने कुरामा सहमत छैनन् । अस्थिर युरोपेली महाद्वीपको भावी सुरक्षालाई सुदृढ गर्ने राजनीतिक इच्छाशक्ति भएका धेरै कम नेताहरू छन्।
ओलाफ स्कोल्ट्जको विदेश नीति मामिलामा आफ्नै संयमित दृष्टिकोण छ र सुरक्षा मामिलामा नेतृत्व गर्न बेवास्ता गरिरहेका छन् । उनलाई राजनीतिक मामिलामा पनि कठिनाइ भइरहेको छ र आगामी वर्षको चुनावमा सत्ताबाट बाहिरिनु पर्ने सम्भावना छ ।
यसै क्रममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक चुनावको घोषणा गरी हालै देशमा संसदीय निर्वाचन गराएपछि उनी आफैं कमजोर स्थितिमा आएका छन् । निर्वाचनपछि मुलुकमा चरम दक्षिणपन्थीले अपेक्षा गरेअनुसारको नेतृत्व पाउन नसकेको र मुलुक अहिले राजनीतिक पक्षाघातको अवस्थाबाट गुज्रिरहेको छ ।
यसैबीच पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले मंगलबार चेतावनी दिए – “यदि युक्रेनले रसिया विरुद्धको युद्ध हार्यो भने पश्चिमसँग रुसको युद्धको सम्भावना उल्लेखनीय रूपमा बढ्नेछ।” उनले भने, “कब्जा गर्न चाहने यो रुसी राक्षसले थप आक्रमण गर्न चाहनेछ र निरन्तर आक्रमण गर्न चाहनेछ।”