सुचना, समाचार र मनोरन्जन

पाकिस्तानको सिन्धमा बाढी : १६ लाखभन्दा बढी मानिस जोखिममा

 

पाकिस्तानको सिन्ध प्रान्तका वरिष्ठ मन्त्री शरजील इनाम मेमनले बाढीका कारण प्रान्तका एक हजार छ सय ५७ गाउँका करिब १६ लाख मानिस प्रभावित हुनसक्ने बताएका छन्।

 

शनिबार मिडियालाई सम्बोधन गर्दै उनले प्रान्तीय सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको र सम्भावित सङ्कट व्यवस्थापनका लागि रोकथामका उपायहरू अपनाइरहेको जानकारी दिए। मन्त्रीहरू प्रत्यक्ष रूपमा स्थलमा रहेको र जिल्ला अधिकारीहरू सक्रिय रूपमा संलग्न रहेको उनले उल्लेख गरे।

 

उनको चेतावनीसँगै पञ्जाबका धेरै क्षेत्रहरू डुबानमा परेका छन्। त्यहाँ कम्तीमा ३० जनाको ज्यान गइसकेको छ भने १५ लाखभन्दा बढी प्रभावित भएका छन्।

 

भारी वर्षाका कारण बढ्दै गएको सतलज, चेनाब र रावी नदीले बाढी ल्याएको हो। अधिकारीहरूले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन्। अहिलेसम्म करिब चार लाख ८१ हजार मानिसलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जियो न्युजले जनाएको छ।

 

सिन्धमा सरकारद्वारा पाँच सय ५१ स्थानलाई राहत शिविरका लागि तोकिएको छ र एक सय ९२ उद्धार डुङ्गा तयारी अवस्थामा राखिएका छन्।

 

मेमनका अनुसार पानीको सतह अझै बढेमा एक सय ६७ वटा युनियन काउन्सिलका करिब दुई लाख ७३ हजार परिवार प्रभावित हुन सक्छन्। उनले आगामी सेप्टेम्बर २ देखि ३ सम्म सिन्धमा बाढीको पानी पुग्नसक्ने जानकारी दिए।

 

मेमनले ब्यारेजहरूको हालको अवस्था पनि सार्वजनिक गरे। उनका अनुसार गुड्डु ब्यारेजले तीन लाख ५१ हजार क्युसेक, सुक्कुरले दुई लाख ८९ हजार क्युसेक र कोट्रीले दुई लाख ५१ हजार क्युसेक पानी छोडिरहेका छन्। यी ब्यारेजहरूको क्षमता क्रमशः १२ लाख, नौ लाख र छ लाख क्यूसेक छ। हाललाई स्थिति स्थिर रहेको र आगामी दिनमा भारी वर्षा नभए अवस्था नियन्त्रणमै रहने अपेक्षा गरिएको उनले बताए।

 

सहरी केन्द्रहरू तत्काल जोखिममा नरहेको उल्लेख गर्दै मन्त्री मेमनले जनतालाई अनावश्यक त्रास नलिन आग्रह गरे। प्रान्तीय सरकार आफैँ सक्षम भएकाले सेनाको सहयोग लिनुपर्ने आपत्कालीन अवस्था अहिलेसम्म नभएको पनि उनले प्रष्ट पारे।

 

कच्छ (नदी) क्षेत्रका बासिन्दालाई जोखिमबारे सचेत पारिएको उनले जानकारी दिए। उनका अनुसार त्यहाँका मानिसहरू सामान्यतया नदीको पानीको व्यवहारबारे सचेत हुने भएकाले पानी बढ्दा स्वेच्छाले सुरक्षित क्षेत्रमा जान्छन् वा आफन्तकहाँ बस्न पुग्छन्।

 

गाईवस्तुका लागि करिब तीन सय शिविर स्थापना गरिएको छ भने नदी किनारमा रहेका १५ जिल्लालाई नजिकबाट निगरानी गरिएको पनि उनले बताए।

 

‘पाकिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये एक हो। नदी किनारभित्र कुनै पनि प्रकारको निर्माण कहिल्यै हुनु हुँदैन’, उनले चेतावनी दिँदै ब्यारेजमा पानीको बहाव र बहिर्गमनसम्बन्धी जानकारी प्रत्येक तीन घण्टामा सार्वजनिक गरिने बताए।

Leave A Reply

Your email address will not be published.