काठमाडौँ,
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन्।
चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उक्त फ्रेमवर्क चाँडै मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा जाने उनले बताए । उनले डिजिटल नेपाल नीति अन्तर्गत पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापन लगायत आठ क्षेत्रमा प्रविधिको प्रयोगलाई विस्तार सरकारको तयारी रहेको बताए ।
उनले कृत्रिम बुद्धिमत्ता ९एआई०को विकास र प्रयोगलाई तीव्रता दिन पाँचौँ पुस्ताको दूरसञ्चार प्रविधि ९फाइभजी० आवश्यक रहेको उल्लेख गर्दै काठमाडौँ उपत्यका र पोखरा उपत्यकाबाट माघ महिनाभित्र फाइभजी परीक्षण सुरु हुने समेत बताए ।
उनले एआईको प्रभावकारी प्रयोगका लागि फाइभजी नेटवर्क अनिवार्यजस्तै भएको कारण सरकार प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे ।
आगामी वर्षभित्र फाइभजी विस्तार सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको उनले उल्लेख गरे । सात वटै प्रदेशमा आइटी डाटा सेन्टर तथा एआई केन्द्र स्थापना गर्न लागि समेत सरकार लागि परेको मन्त्री गुरुङको भनाइ छ ।
उनले भने,‘हामी डिजिटल नेपालको फ्रेमवर्क बनाउँदैछौं । त्यो नीति अब क्याबिनेटबाट पास भएर कार्यान्वयनमा आउँछ । हामी त्यसको अन्तिम ठाउँमा छौँ । अब टुरिज्म, एजुकेसन, गभर्नेन्स तथा डिजास्टर म्यानेजमेन्ट लगायत आठ वटा क्षेत्रमा त्यसले काम गर्छ । आइटीको अहिलेको विकसित रूप चाहीँ एआई हो । एआईको प्रयोगको लागि अब फाइभजीको नेटवर्क चाहियो अब हामीलाई । त्यसकारणले यही वर्षको माघभित्र काठमाडौँ भ्याली र पोखरा भ्यालीबाट सुरु परीक्षण सुरु गर्छौँ । त्यसले इन्टरनेटको प्रयोगलाई समेत सहयोग गर्ने र एआईको प्रयोगमा पनि सहयोग गर्ने विश्वास लिएका छौँ । यो वर्ष सुरु गरेर फाइभजीको काम गरेर अर्को वर्षसम्म सक्ने तयारीमा छौँ । हामी सात वटै प्रदेशमा आइटी डाटा सेन्टर र एआई केन्द्र विकास गर्ने तयारी गर्दैछौं ।’
बैंकिङ ठगीका मुद्दाहरू बढिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणका लागि आवश्यक कानुन निर्माण प्रक्रिया अघि बढिरहेको समेत बताए ।