चितवन/
कुनै समय थियो, खैरो कपाल र सेतो छाला भएका मानिसलाई मात्रै पर्यटक मानिन्थ्यो । पछिल्लो समय नेपालीको घुम्ने संस्कार विकास भएसँगै चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा नेपाली पर्यटककै घुइँचो लाग्ने गरेको छ ।
शनिबार, सार्वजनिक बिदा र चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा उल्लेख्य आन्तरिक पर्यटक आउने गरेका व्यवसायीले बताएका छन् । दसैँ, तिहार र छठ पर्वको समयमा यहाँका प्रायः सबै पर्यटकीय गन्तव्य आन्तरिक पर्यटकले भरिएका थिए । पर्वका अवसरमा धार्मिक पर्यटकीयस्थलसँगै प्राकृतिक सौन्दर्यस्थलमा पनि पर्यटकको उस्तै घुइँचो थियो ।
दसैँदेखि छठसम्म जिल्ला र वरपरका पर्यटकीय गन्तव्य आन्तरिक र बाह्य पर्यटकले भरिभराउ भएका थिए । मनकामना दर्शनका लागि गत शुक्रबार साँझ मन्दिर पुगेका धेरैले सुत्ने कोठा पाएनन् । मन्दिरको दर्शनका लागि पुगेका पत्रकार प्रकाशमणि ज्ञवालीका अनुसार मन्दिरका पेटी, होटलका वरण्डामा समेत कतिपयले रात बिताउनुपरेको थियो ।
होटल सञ्चालकले आफूले प्रयोग गर्ने कोठा पनि पाहुनालाई दिएको उनको भनाइ थियो । ज्ञवालीले त्यसरात मन्दिर क्षेत्रमा दुई हजारभन्दा बढी मानिसले मन्दिरका पेटी, होटलका वरण्डामा दुःखसुख गरेर रात बिताएका बताए ।
गत शनिबार १० हजार ५२ जनाले केबलकार यात्रा गरेका मनकामना दर्शन प्रालिका नायक महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार बिहान ६ बजेदेखि राति १० बजेसम्म केबलकार चलाउनुपरेको थियो । यसका अतिरिक्त गाडी, मोटरसाइकल र पैदल यात्रा गरेर पनि मनकामना दर्शनका लागि पर्यटक मन्दिर पुगेका थिए ।
‘केबलकार सुरु भएयताकै यो सङ्ख्या धेरैमध्येको एक पर्दछ । यसअघि गत वैशाख १ गते केबलकार चढ्नेको सङ्ख्या १० हजार नाघेको थियो’, शेरचनले भने, ‘केबलकार यात्रा गर्ने धेरै भारतीय हुने भए पनि गत शनिबारको सङ्ख्यामा तीन सय ९१ भारतीय थिए, बाँकी सबै नेपाली थिए ।’
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहामा पनि तिहारको समयमा पर्यटकले कोठा पाउन नसकेका क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले बताए । उनका अनुसार गत बिहीबार र शुक्रबार कोठा पाउन नसकेर कतिपय आन्तरिक पर्यटक फर्किनुपरेको थियो । हात्ती, डुङ्गा र जीप चढ्नका लागि दसैँयतादेखि धेरैले समय नपाएका थपलियाको भनाइ थियो । निकुञ्ज प्रवेशका लागि टिकट लिन बिहान ४ बजेदेखि लाइन बस्नुपरेको उनले बताए ।