पोखरा,
कास्कीका युवतीहरूमाझ रहेको प्रतिभा, आत्मविश्वास र नेतृत्वदायी क्षमतालाई एउटै मञ्चमा उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस कास्की नेपाल’को ग्राण्ड फिनाले पोखरामा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। भव्य प्रतिस्पर्धाका बीच यस वर्षको ‘मिस कास्की नेपाल’को मुख्य उपाधि निलक्सणा श्रेष्ठले आफ्नो नाममा पारेकी छन्।
प्रतिस्पर्धामा आफ्ना अब्बल प्रस्तुतिमार्फत निकिता सुवेदी प्रथम रनर-अप (1st Runner Up) बन्न सफल भइन् भने जेसिसा बानियाँ द्वितीय रनर-अप (2nd Runner Up) र स्नेहा गुरुङ तृतीय रनर-अप (3rd Runner Up) घोषित भए। त्यसैगरी, दर्शकहरूको प्रचुर माया र सर्वाधिक भोट प्राप्त गर्दै श्रेया गुरुङले ‘भ्युअर्स च्वाइस’ (Viewers Choice) को उपाधि हात पारिन्।
गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मानकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको उक्त कार्यक्रममा प्रतिस्पर्धीहरूको बहुआयामिक क्षमता मूल्याङ्कनका लागि समाजका विभिन्न क्षेत्रका स्थापित व्यक्तित्वहरू निर्णायकको भूमिकामा रहेका थिए। निर्णायक मण्डलमा चर्चित गायिका तथा नवदीप सेकेन्डरी स्कूलकी प्रिन्सिपल कौशल्या गुरुङ, मिरकल पोखरा डेन्टल हस्पिटलका सञ्चालक डा. सुदीप गिरी र पर्यटन शोधकर्ता एवं प्राध्यापक दिपेन्द्र पहाडी रहनुभएको थियो।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेपछि आयोजक संस्था हेभन्ली इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक सफल सुवेदीले कास्कीका युवतीहरूको व्यक्तित्व विकास र नेतृत्वदायी क्षमता अभिवृद्धिका लागि यो मञ्च तयार पारिएको बताउनुभयो। साथै, प्रतियोगितालाई सभ्य र भव्य रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, निर्णायक, प्रायोजक, अभिभावक तथा दर्शकहरूलाई उहाँले विशेष धन्यवाद व्यक्त गर्नुभयो।