निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ।
आयोगले स्थापना गरेको सूचना सदाचार प्रवर्बद्धन एकाइले चुनावसँग सम्बन्धित सूचनाको अध्ययन गरी सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गरेको हो। एकाइमा हालसम्म ६ सय १२ वटा सूचनासम्बन्धी उजुरी आएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।
अहिलेसम्म आएका उजुरीमाथि छानबिन गरी केही व्यवस्थापन तथा केही हटाउन आयोगले सम्बन्धित निकायमा पत्राचार गरेको छ। आचारसंहिता विपरीत रहेका केही सामग्री हटाइएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोलाई ३३६ वटा सामग्री हटाउन पत्राचार गरेकोमा १२९ वटा सामग्री हटाएको घिमिरले बताए। त्यस्तै, आचारसंहिता विपरीतका सामग्री प्रकाशित गरेका १२ वेबसाइटलाई ब्लक गरिएको उनले जानकारी दिए।
वेबसाईट नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशन गर्ने १२ वटा वेबसाइट ब्लक गर्न अनुरोध गरिएको थियो। ती साइटले निर्वाचन नतिजा पूर्वानुमान गर्दै भ्रामक र अनुमानित सूचना सार्वजनिक गरेकोले ब्लाक गर्न सिफारिस गरेको उनले बताए।
त्यस्तै, प्रेस काउन्सिल नेपालमा पठाइएका ७४ वटा उजुरीमध्ये ३२ वटा सामग्री हटाइएको छ। निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न ९० जनासँग स्पष्टीकरण सोधेको पनि उनले बताए।
यस्तै, जिल्लास्तरमा गठित अनुगमन समितिले पनि काम गरिरहेको छ। निर्वाचन अवधिभर आचारसंहिता विपरीत गतिविधि नियन्त्रण र सामग्री हटाउने कार्यलाई निरन्तरता दिने उनले बताए।