सुचना, समाचार र मनोरन्जन

निर्देशक अर्जुन घिमिरेको फिल्म ‘झरीपछिको इन्द्रेणी’मा पार्श्व गायनबाट रोजमानको डेब्यु

काठमाडौं :

निर्देशक अर्जुन घिमिरे (पाँडे) निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ मा चर्चित नेवारी गायक रोजमान महर्जनले पार्श्व गायनबाट डेब्यु गरेका छन्। फिल्मको ‘धन्य धन्य लोकेश्वर’ बोलको गीतमा महर्जनको स्वर रहेको छ,जसले नेपाली मौलिक बाजा,भक्ति भावना र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै फिल्ममा भावनात्मक गहिराइ थपेको निर्देशक घिमिरेको भनाइ छ।

काठमाडौंको सुर मेलोडी रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा महर्जनलाई अनुभवी नेवारी गायिका रत्न शोभा महर्जनले साथ दिएकी छन्। गीतमा सुरेन्द्र श्रेष्ठको संगीत संयोजन रहेको छ भने बाँसुरीमा रुविन श्रेष्ठ, खिन/मादलमा लक्ष्मी डंगोल, सितारमा राजीव श्रेष्ठ र गिटारमा सुरेन्द्र श्रेष्ठको प्रस्तुति रहेको छ।

फिल्मको छायांकन हाल एक महिनादेखि काठमाडौं र वरपरका क्षेत्रहरूमा भइरहेको छ। निर्देशक घिमिरेका अनुसार, यो फिल्म सांगीतिक र सांस्कृतिक दृष्टिले पनि सशक्त बनाउने प्रयासस्वरूप तयार हुँदैछ। घिमिरेले यो फिल्ममार्फत नेवारी भाषाको सांगीतिक स्वादलाई नेपाली फिल्ममा समावेश गरेका छन्।

‘झरीपछिको इन्द्रेणी’ मा घिमिरेकै अभिनय रहेको छ भने अन्य कलाकारहरूमा गणेश उप्रेती, दीपाश्री निरौला,रमेश उप्रेती, निर्मल शर्मा, र प्रियाना आचार्य (मुन्नी) छन्। अभिनेता गणेश उप्रेतीले यसै फिल्मबाट ९ वर्षपछि पुनरागमन गरेका छन्। साथै, फिल्ममा काठमाडौं महानगरका मेयर बालेन शाहको स्वर रहेको एउटा गीत पनि समावेश गरिएको छ।

Leave A Reply

Your email address will not be published.