एजेन्सी :
भारतीय गायक तथा ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजन सवारी दुर्घटनामा परेका छन्। दुर्घटनामा उनी सहित तीन जना गम्भीर घाइते भएका छन्। भारतिय मिडियाका अनुसार उनी चढेको गाडी गाडी उत्तराखण्डबाट दिल्लीतर्फ जाँदै गर्दा पार्किङ गरिएको कन्टेनरसँग ठोक्किएको थियो।
उक्त ठक्करबाट पवनदीपसहित उनका चालक राहुल सिंह बोहर र अर्का यात्रु अजय मेहरा गम्भीर घाइते भएका हुन्। तीनै जनालाई दुर्घटनापछि तत्कालै सरकारी अस्पतालमा लगिएको थियो। तर, उनीहरुको अवस्था गम्भीर देखिएपछि मोरादाबाद हुँदै नोएडास्थित एक निजी अस्पतालको आईसीयूमा सारिएको भारतिय प्रहरीको भनाई छ। उनीहरु तीनैजना उत्तराखण्डको चम्पावत जिल्लाका बासिन्दा हुन्।
भारतिय मिडियाका अनुसार यो दुर्घटना सोमबार बिहान करिब २ः३० बजे तिरको हो। उत्तर प्रदेशको अमरोहा जिल्लाको गजरौला थाना क्षेत्रको राष्ट्रिय राजमार्ग–९ मा यो घटना भएको हो। भारतिय प्रहरीले यो दुर्घटनाको कारण दुर्घटना चालक निदाउनु र तीव्र गतिमा कार दौडाउनु रहेको उल्लेख गरेको छ। पवनदीपको दुर्घटनाको खबर सार्वजनिक भएपछि उनका प्रशंसकहरू सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरिरहेका छन्।