मुगु :
अभिनेता प्रदीप खड्काले राराताल पुगेर कर्णालीवासीलाई क्षतिपुर्ती दिन माग गरेका छन्। दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालमा पुगेर यो कुराको माग गरेका हुन्। यस महोत्वसको भव्य रूपमा सम्पन्न गर्दै यस महोत्सवका सद्भावना दूतसमेत रहेका अभिनेता खड्काले रारा क्षेत्र मात्र नभई विश्वभर फिल्म छायाङ्कनका लागि उत्कृष्ट स्टुडियोको रूपमा रारा ताल र वरपरका प्राकृतिक सम्भावनाहरूलाई उजागर गर्न यो महोत्सवले सघाउने बताए।
उनले फिल्म ‘प्रेम गीत २’को छायाङ्कन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णाली क्षेत्र विशेष गरी राराको अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धनमा चलचित्रको प्रभावको चर्चा गरे। फिल्म पर्यटन प्रवद्र्धन र भाषा, रीतिरिवाज संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने शक्तिशाली माध्यम भएको समेत बताए। उनले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिनु पर्ने र जलवायु परिवर्तनका कारण कर्णाली लगायत नेपालले भोगिरहेको क्षतिको क्षतिपूर्ति माग्न कर्णालीवासीले आवाज उठाउन आवश्यक रहेको दाबी गरे। हिमालहरू पग्लँदै गएको, पानी र खाद्यान्न सङ्कट बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै जलवायु परिवर्तनबारे जनचेतना फैलाउन र अभियान सञ्चालन गर्नुपर्ने उनको विचार थियो । साथै, आफ्नो नयाँ फिल्म ‘छब्बीस करोड’ पनि चाँडै कर्णालीमा छायाङ्कन गर्ने योजना रहेको जानकारी दिए।
भएको छ । समिटमा चलचित्र, पर्यटन र जलवायु परिवर्तनका विषयमा विविध बहस र छलफलहरू भए। समारोहको प्रमुख अतिथि मुगु जिल्ला समन्वय समितिका प्रमुख मनजन बहादुर कार्की थिए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु कुमार भाम, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, वरिष्ठ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता प्रदीप खड्का, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीलगायतको सहभागिता रहेको थियो।
‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’भन्ने मूल नाराका साथ आयोजित महोत्सवले नेपाली चलचित्र प्रवद्र्धनसँगै कर्णाली क्षेत्रको पर्यटन र जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्य लिएको छ । चलचित्र, पर्यटन र जलवायु विषयमा केन्द्रित दुई वटा सत्रमा सम्पन्न समिटमा स्थानीय संस्कृति, भाषा, पर्यटन पूर्वाधार र अन्तर्राष्ट्रिय बजारमा फिल्ममार्फत कर्णालीको प्रतिनिधित्व गर्ने विषयमा व्यापक छलफल भएको थियो।
महोत्सवको सह आयोजक रहेको संस्था चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डिसीले कर्णाली चलचित्र महोत्सवले विभिन्न स्थानमा आयोजना गरेका कार्यक्रमहरूले चलचित्र क्षेत्रका नयाँ सम्भावनाहरूको खोजी गरेको बताए। उनले गाउँ–गाउँसम्म चलचित्र प्रवद्र्धन गर्न खेलेको भूमिकाको प्रशंसा गरे। चलचित्र विकास बोर्डले बलिउडका केही प्रभावशाली व्यक्तिहरूलाई बोलाई रारामा समेत चलचित्रका गतिविधिहरू गर्ने योजना रहेको जानकारी दिए । रारा सहित कर्णालीका विभिन्न भागहरू खुल्ला स्टुडियोको रूपमा रहेको बताउँदै उहाँले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी चलचित्र विकास बोर्ड अगाडि बढिरहेको उल्लेख गरे ।
निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाले पहिलो पटक राराको सौन्दर्य अनुभूत गर्न पाएको बताउँदै भविष्यमा कर्णालीका कथालाई पर्दामा उतार्ने प्रतिबद्धता जनाइन् । रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु भामले ‘प्रेमगीत २’ पछि राराको प्रवद्र्धन बढेको भन्दै यस्ता गतिविधिलाई नीति बनाएर निरन्तरता दिने प्रतिबद्धता जनाए । नेपाल पर्यटन बोर्डका अधिकृत गोपाल भण्डारीले पर्यटन र चलचित्र प्रवद्र्धनलाई हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, सोरु गाउँपालिकाका उपाध्यक्ष केशर जङ्ग शाही, वडाध्यक्षहरू लगायत स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता थियो। उनीहरूले यस्ता समिटले कर्णालीका आवाजलाई केन्द्रमा ल्याएको बताउँदै छायाङ्कन र अन्य गतिविधिमा सहकार्य गर्ने प्रतिबद्धता जनाए।
रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु कुमार भामले चलचित्र ‘प्रेमगीत २’ मार्फत राराको प्राकृतिक सौन्दर्य पर्दामा प्रस्तुत भएपछि क्षेत्रको प्रचार–प्रसारमा उल्लेखनीय योगदान पुगेको बताए । चलचित्रले पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको उल्लेख गर्दै उहाँले पालिकाको तर्फबाट यस्ता गतिविधिमा नीतिगत रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए। सोरु गाउँपालिकाका उपाध्यक्ष केशरजंग शाहीले महोत्सव र समिटले क्षेत्रको विकास र संरक्षणप्रति सचेतना जगाएको बताउँदै यस्ता कार्यक्रमलाई आफ्नो पालिकाले पूर्ण सहयोग गर्ने उल्लेख गरे ।
उहाँले राराको भौगोलिक र पर्यावरणीय संवेदनशीलतालाई ध्यानमा राख्दै छायाङ्कनका क्रममा सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै, अभिनेता प्रदीप खड्कालगायतबाट उठाइएको जलवायु परिवर्तनको बहस निकै सान्दर्भिक रहेको बताए। महोत्सव निर्देशक चक्र बहादुर चन्दले महोत्सवलाई काठमाडौं केन्द्रित मात्र नभई कर्णालीका विभिन्न ठाउँमा गएर स्थानीय सम्भावनालाई उजागर गर्ने अभियानका रूपमा व्याख्या गरे। महोत्सव सल्लाहकार डा. महेन्द्र कुमार मल्लले कर्णालीको चेतना ब्युँझन थालेको बताउँदै महोत्सवले यो अभियान अझ सशक्त बनाउने उल्लेख गरे।
यसअघि सुर्खेत र दैलेखमा महोत्सव सम्पन्न भइसकेको छ भने अवार्ड समारोह काठमाडौंमा आयोजना गरिनेछ । महोत्सवले चलचित्रमार्फत पर्यटन र जलवायु परिवर्तनको सन्देश फैलाउने, चलचित्रकर्मीलाई कर्णालीमा भित्र्याउने, आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्याउने लक्ष्य लिएको छ।