काठमाडौं :
नेपाली दर्शकले अभिनेता सौगात मल्ललाई फरक फरक भुमिकामा हेर्दै आएका छन्। उनले दुई दशक अघिबाट नै फिल्म खेल्न थालेका थिए। त्यो बेलाबाट नै उनलाई अभिनय गर्न मन लागेको कथा रहेछ साहित्यकार इन्द्रबहादुर राईद्धारा लिखित कृति ‘जार’। उनले साहित्यकार इन्द्र बहादुर राईको कथा ‘जार’ पढेदेखि नै उनलाई यो कृतिमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने लागेको भनाई राखे।
अन्तत उनले आफ्नो सपना साकार भएको पत्रकारसामु सुनाए। पत्रकारसँगको कुराकानीमा उनी निकै खुशीका साथ आफ्ना भनाई राख्न उत्साहित देखिए। उनले २७ वर्षअघि नाटक ‘जार’ गुरुकुलमा हेरेको बताए। उक्त नाटक हेर्दा आफुलाई पनि अभिनय गर्न पाए हुन्थ्यो भन्ने मनमा त्यो बेला नै पसेको उनले दाबी गरे।
‘म त्यो समयमा एउटा फिल्ममा फाइनल भइसकेको थिएँ । जसले गर्दा यो नाटकमा काम गर्न पाइनँ’, सौगात भन्छन्, ‘तर नाटक पढ्ने मौका पाएँ। कुनै कुनै कथा, उपन्यासले मान्छेलाई दुई चारदिनसम्म सुत्ने वातावरण दिँदैन। मलाई पनि त्यस्तै भयो। त्यही कथामा सिनेमाका लागि अफर आउँदा मेरा लागि सरप्राइज भयो।’
सौगातका अनुसार चलचित्रमा उनले निर्वाह गरेको चरित्रबारे पुस्तकमा पढ्दा उनको जिउँमा काँडा नै उम्रिएको थियो। उनले यस पटक यसैका लेखक राईलाई समेत सम्झिए।
उनले इन्द्रबहादुर राईसँगको त्यो भेट सम्झदै भने,‘मैले कागबेनीको चरित्र पछि जारलाई संगालेर राखेको थिएँ। गुरुकुलमा इन्द्रबहादुर राई आउनुहुँदा जारमा नाटक गर्ने इच्छा छ भन्नुभएको थियो। त्यो बेला चरित्रको बारेमा कुराकानी पनि भएको थियो। तर मैले अरु चलचित्र साइन गरिसकेको थिएँ। तर कुनै दिन जारकै कथामा चलचित्र बन्यो भने त्यो पात्र म निभाउँछु भन्ने प्रतिबद्धता जनाएँ।’
कालान्तरमा त्यसैबाट अफर आउनु सुखद् सयोग र भाग्यमानी दुवै भएको सौगात बताउँछन् । आफूले सपना देखेको सिनेमामा काम पनि त्यसैगरी गरेको उनले बताए। उनले अभिनय गरेको फिल्म ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो। साहित्यकार इन्द्रबहादुर राईको कृति ‘जार’ मा आधारित रहेर निर्माण गरिएको यस फिल्मलाई फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको छ। यस फिल्ममा सौगातसँगै अनुपविक्रम शाही र गीताञ्जली थापा पनि प्रमुख भूमिकामा छन्। होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको छ। यस फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।
सरवानन इलावार्सुको छायांकन रहेको यस फिल्ममा अखिलेश राईको सम्पादन छ। सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ। यस फिल्मलाई नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ। यस फिल्मको प्रदर्शनका लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।