काठमाडौं,
चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । रिलिजको २२औँ दिनसम्म पनि दर्शकको उत्साहजनक सहभागिता कायम रहेपछि चलचित्रको निर्माण टिमले शुक्रबार काठमाडौंमा पत्रकारहरूसँग ‘मिट एन्ड ग्रिट’ कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौंको मण्डला थिएटरमा आयोजित कार्यक्रममा चलचित्रलाई साथ, सहयोग र माया दिने सञ्चारकर्मी तथा दर्शकलाई धन्यवाद दिँदै चलचित्रका विषयमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा निर्देशक, कलाकार तथा पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले कलाकार, पत्रकार र दर्शकको साथ–सहयोगकै कारण ‘पेन्सन पट्टा’ले सफलता हासिल गरेको बताए । चलचित्रले यति धेरै सफलता पाउँछ भन्ने आफूले सुरुवातमा नसोचेको उल्लेख गर्दै उनले दर्शकको ‘माउथ पब्लिसिटी’ नै चलचित्र सफल हुनुको प्रमुख आधार बनेको बताए । ‘पेन्सन पट्टा’को कथामा आफूले लामो समय र मेहनत खर्चिएको बताउँदै गुरुङले दर्शकले कथालाई मन पराइदिँदा आफ्नो मेहनत सार्थक भएको बताए ।
चलचित्रका अभिनेता दयाहाङ राईले ‘पेन्सन पट्टा’को कथालाई दर्शकले आफ्नै परिवार र समुदायसँग जोडेर हेर्न थालेकाले चलचित्रले दर्शकको साथ पाएको बताए । कथा बलियो भएकै कारण त्यसअनुसार पात्र र कलाकारको भूमिका पनि प्रभावकारी बनेको उनको भनाइ थियो । चलचित्र सफल बनाउन यसको सम्पूर्ण टिमको महत्वपूर्ण योगदान रहेको उनले बताए ।

कलाकार पुस्कर गुरुङले ‘पेन्सन पट्टा’ सामाजिक यथार्थवादी चलचित्र भएकाले दर्शकले आत्मसात गरेको बताए । समयअनुसारको कथालाई दर्शकले आफ्नै जीवन र परिवेशसँग जोडेर हेरेको उनको भनाइ थियो ।
त्यस्तै, कलाकार बुद्धि तामाङले आफू सानो भूमिकामा भए पनि चलचित्रमा आबद्ध हुन पाउनु र ‘पेन्सन पट्टा’लाई दर्शकले रुचाउनु खुसीको विषय भएको बताए । उनले चलचित्रको सफलतालाई दर्शकको मायासँग जोडे ।
कलाकार विश्वास गुरुङले चलचित्र सफल भएपछि दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउनु आफ्ना लागि सुनौलो अवसर भएको बताए । दर्शकसँग प्रत्यक्ष भेटेर उनीहरूको प्रतिक्रिया सुन्न पाउँदा आफू थप उत्साहित भएको उनको भनाइ थियो ।
अभिनेत्री अनुसा राईले ‘पेन्सन पट्टा’मा काम गर्न पाउनु नै आफ्ना लागि खुसीको विषय भएको बताइन् । चलचित्रमा आफूले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाएको र हलमै पुगेर दर्शकको प्रतिक्रिया प्रत्यक्ष अनुभव गर्न पाउँदा निकै प्रफुल्लित भएको उनले उल्लेख गरिन् ।
चलचित्रका कलाकार तथा सहायक लेखक सुरज तमुले कथाअनुसार पात्रको भूमिका र दर्शकको निरन्तर साथकै कारण चलचित्रले सफलता पाएको बताए । आफूहरू सिनेमा हलमा पुग्दा दर्शकहरू पटक–पटक ‘पेन्सन पट्टा’ हेर्न पुगेको देख्दा उत्साहित भएको उनले बताए ।
चलचित्र प्रदर्शनको चौथो हप्तासम्म पनि दर्शकको उत्साह कायम रहँदा निर्माण टिम थप उत्साहित बनेको छ । सामाजिक यथार्थ र पारिवारिक कथावस्तुलाई केन्द्रमा राखिएको ‘पेन्सन पट्टा’ले दर्शकको प्रतिक्रियाबाट आफ्नो यात्रालाई निरन्तरता दिइरहेको छ ।