
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरामा क्यान–११ को दबदबा, चारवटै खेलमा भुटान पराजित
- कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री बनाइने
- चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको चौथो हप्तामा प्रवेश: दर्शकको उत्साहजनक सहभागिता
- टीभीएसको दसैँ योजना : पोखरामा असोज १८ देखि मेगा एक्सचेन्ज इभेन्ट
- नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन
- मतदाता सूची विवादमा कक्रोच आन्दोलन
- बदलिँदै राजी समुदायको दिनचर्या
- राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कारबाही गर्न निर्देशन
- जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै
- नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री बनाइने
ललितपुर,
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री हुने जानकारी गराउँदै प्रचारप्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गर्नुभएको छ ।
महाधिवेशनका बारेमा जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले महाधिवेशनमा प्रचारप्रसारलाई वातावरणमैत्री बनाउँदै अधिकांश सूचना तथा प्रचार सामग्री डिजिटल माध्यमबाट देशभर प्रसार गरिने बताउनुभयो । उहाँले महाधिवेशन स्थलमा मुख्य प्रवेशद्वार बाहेक अन्य स्थानमा प्रचार सामग्री टाँस्ने काम नगरिने जानकारी दिनुभयो ।
“महाधिवेशनसम्बन्धी सूचना काठमाडौँ उपत्यकासहित देशभर डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने तयारी गरिएको छ । महाधिवेशनमा करिब सात हजार ७०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । सहभागी नेता तथा कार्यकर्तालाई समेत आफ्ना गतिविधि र सन्देश डिजिटल माध्यमबाट सम्प्रेषण गर्न आग्रह गरिएको छ”, प्रवक्ता चालिसेले भन्नुभयो ।

महाधिवेशन स्थलमा पत्रकारका लागि दैनिक पत्रकार सम्मेलन तथा समाचार सङ्कलनको आवश्यक व्यवस्था मिलाइएको उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार वडा तहमा ९९ प्रतिशत क्रियाशील सदस्य सहभागी भएका छन् ।
अन्तरराष्ट्रिय अतिथिका साथसाथै देशभित्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई महाधिवेशनमा आमन्त्रण गरिएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो । महाधिवेशनमा वैचारिक बहससँगै राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूसँग समेत छलफल गरिने उल्लेख गर्दै उहाँले युवा, बेरोजगारी र प्रविधिसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर नयाँ अवधारणा तथा नीति प्रस्तुत गर्ने तयारी गरिएको बताउनुभयो ।
महाधिवेशनलाई व्यवस्थित, अनुशासित र वातावरणमैत्री बनाउन नेपाल तथा विदेशमा रहेका कांग्रेसका नेता, कार्यकर्ता र सञ्चारकर्मीलाई जिम्मेवारीपूर्वक सहयोग गर्न प्रवक्ता चालिसेले आग्रह गर्नुभयो ।