सुचना, समाचार र मनोरन्जन

पोखरामा क्यान–११ को दबदबा, चारवटै खेलमा भुटान पराजित

पोखरा,

मलेसियामा हुने टी–२० विश्वकप सब–क्वालिफायर ‘ए’ को तयारीका लागि पहिलोपटक नेपाल भ्रमणमा आएको भुटानी क्रिकेट टोलीका लागि यो शृङ्खला निराशाजनक बनेको छ। पोखरामा सम्पन्न अभ्यास शृङ्खलाका चारवटै खेल गुमाउँदै भुटानले आफ्नो नेपाल यात्रा पराजयको भारीसहित टुङ्ग्याएको हो। पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम अभ्यास खेलमा क्यान–११ ले भुटानमाथि १०४ रनको फराकिलो जित हात पार्दै लगातार दोस्रो सफलता हासिल गर्‍यो।

Chaka Panja

टस हारेर पहिले ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रनको बलियो योगफल खडा गरेको थियो। क्यान–११ का लागि त्रित राज दासले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान बिपिन खत्री ३८ रनमा अविजित रहे। त्यसैगरी मयंक यादवले २६, राशिद खानले २४ र सिब्रिन श्रेष्ठले १९ रनको योगदान दिएका थिए। भुटानका तर्फबाट बलिङमा आनन्द मोंगरले ३ विकेट तथा गकुल कुमार घलेले २ विकेट लिए भने सोनाम येशे र नामगे थिन्लेले १–१ विकेट हात पारे।

१७७ रनको विशाल लक्ष्य पछ्याएको भुटानी ब्याटिङ लाइनअप क्यान–११ का स्पिनर बिपिन शर्माको घातक बलिङसामु पूरै धराशायी बन्यो। बिपिनले ४ ओभरमा मात्र १९ रन खर्चेर ५ विकेट लिएपछि भुटान १७.३ ओभरमा ७२ रनमै अलआउट हुन पुग्यो। भुटानका लागि सोनाम चोपेल, आनन्द मोंगर र तासी फुन्त्सोले समान १५/१५ रन तथा नामगे थिन्लेले १३ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन्। क्यान–११ का लागि आकाश चन्दले २ विकेट तथा राशिद खान, प्रकाश जैसी र बिपिन खत्रीले १–१ विकेट बाँडे। सानदार प्रदर्शन गरेका बिपिन शर्मा म्यान अफ दि म्याच बने। यसअघि घरेलु टोली गण्डकी प्रदेशसँगका दुई खेल र क्यान–११ सँगको पहिलो खेलमा पनि पराजित भएको भुटानले नतिजा आफ्नो पक्षमा पार्न नसके पनि आसन्न विश्वकप सब–क्वालिफायर ‘ए’ का लागि नेपाल भ्रमणबाट महत्त्वपूर्ण अभ्यास र अनुभव बटुलेको छ।

Leave A Reply

Your email address will not be published.