पोखरा,
पोखरा ९ शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसलाई गुणस्तर मापन तथा प्रत्यायन (क्युएए) को प्रमाणपत्र प्राप्त भएको छ ।
विश्वविद्यालय अनुदान आयोग (युजिसी) सानोठिमी भक्तपुरको शैक्षिक गुणस्तर मापन तथा प्रत्यायन परिषद्को सिफारिसमा गत वैशाख ३१ गते निर्णय गरी जेठ २१ गते क्याम्पसलाई क्युएए प्रमाणपत्र प्रदान गरेको हो ।
लामो समयदेखिको मिहिनेत र प्रयासपछि, सबै चरण पार गरी क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख शिुशुकला पराजुलीले बताइन । क्युएए शैक्षिक गुणस्तरका निम्ति अन्तर्राष्ट्रिय मापन भएकाले सो प्रमाणपत्र पाएका क्याम्पसमा अध्यनरत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सहज हुने उनको भनाइ छ ।
पोखरा बहुमुखी क्याम्पसलाई शैक्षिक, प्रशासनिक, भौतिक र सामाजिक सबै पक्षमा थप सुदृढ, पारदर्शी र उत्तरदायी बन्ने बाटोमा प्रेरित गरेको छ । वि.सं. २०४४ साल मंसिर १४ गते गते पोखरा टुँडिखेलस्थि राष्ट्रिय माविको भवनमा स्थापना गरिएको क्याम्पस अहिले पोखरा ९ शान्तिवनस्थित आफ्नै भवनमा सञ्चालित छ । त्यसअघि महेन्द्र मावि नयाँबजारको भवनमा क्याम्पस चल्दै आएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पस भवन निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएका थिए । पोखरा महानगरपालिकाले क्याम्पसलाई जग्गा उपलब्ध गराएको हो । चन्दादाताहरुबाट रकम संकलन गरी ६ करोडमा भवन निर्माण सम्पन्न गरिएको अध्यक्ष लालचनले जानकारी दिए ।
क्याम्पसको पूर्वाधार, प्रशासनिक प्रणाली, शैक्षिक गुणस्तर र वित्तीय व्यवस्थापनमा उल्लेख्य सुधार हुँदै आएर क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्युएए प्रोसेस रिफ्लेक्सन प्रस्तुति दिँदै प्राध्यापक तथा आन्तरिक गुणस्तर सुनिश्चितता समितिका संयोजक महेन्द्र रिमालले जनाए । क्युएए प्रमाणपत्र प्राप्त भएपछि यहाँ पढेका विद्यार्थीको सर्टिफिकेट विश्वभरका उत्कृष्ट विश्वविद्यालयले मान्यता दिने उनले बताए ।
स्थानीय निकाय, समाजसेवी संस्था तथा निजी क्षेत्रको सहकार्यमा क्याम्पसले सामुदायिक शिक्षा प्रवद्र्धनमा उल्लेखनीय योगदान दिँदै आएको क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठले बताए । क्याम्पसमा स्नातक तहमा मानविकी र व्यवस्थापन संकायको पढाइ हुन्छ । अध्ययनरत विद्यार्थीको संख्या झण्डै ५ सय रहेको क्याम्पसले शैक्षिक विस्तारको योजनाअनुसार चाँडै नै बिबिए, बिआइएम, बिआइटी लगायत कार्यक्रम थप्ने योजना क्याम्पस प्रमुख पराजुलीले सुनाइन् ।
विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र जीवनोपयोगी सीप प्रदान गर्ने उद्देश्यले क्याम्पसले विभिन्न ननक्रेडिट कोर्स सञ्चालन गर्दै आएको जानकारी प्राध्यापक रिमालले दिए । उनकै भनाइमा पोखरा बहुमुखी क्याम्पसले शैक्षिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वलाई पनि बराबरी महत्व दिँदै आएको छ ।
क्याम्पसले वातावरण संरक्षण, वन व्यवस्थापन, महिला सशक्तीकरण, साइबर सुरक्षा, मानसिक स्वास्थ्य, लैंगिक हिंसा न्यूनीकरण, लैंगिक समानता, आत्मनिर्भरता, जीवनसीप र नेतृत्व विकास जस्ता विषयमा जिल्लास्तरीय कार्यक्रम सञ्चालन गर्दै आएको रिमालले बताए । खेलकुदको क्षेत्रमा समेत क्याम्पस सक्रिय छ। विशेष गरी फुटबलमा छात्र र छात्रा दुवै समूहका लागि छुट्टाछुट्टै टोली गठन गरेर स्थानीय तथा अन्तरक्याम्पस प्रतियोगितामा सहभागिता जनाउने चलन स्थापित भएको अर्का प्राध्यापक भीमप्रसाद न्यौपानले बताए ।
पोखराका क्याम्पसले धमाधम क्यूएए प्रमाणपत्र प्राप्त गरिरहेका छन् । यसअघि जनप्रिय बहुमुखी क्याम्पस, पृथ्वीनारायण बहुमुखी क्याम्पस, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र कन्या बहुमुखी क्याम्पसले गुणमापन तथा प्रत्यायनको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।
