पोखरा/
पोखरा महानगरपालिकाले “पोखरा भ्रमण वर्ष २०२५” लाई सफल बनाउन योजनाबद्ध कार्यक्रमहरू सार्वजनिक गर्न पोखरा सभागृहमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । महानगरपालिकाले पोखराको पर्यटन विकासलाई तीव्रता दिनका लागि विभिन्न रणनीतिक योजना अघि सारेको छ। हिमाल, ताल, गुफा, धार्मिकस्थल तथा साहसिक खेलका लागि प्रसिद्ध पोखरालाई थप व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गरिएको हो।
महानगरका पदाधिकारीहरू, पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, पत्रकार महासंघका सदस्यहरू, धार्मिक संघसंस्था तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा पोखराको पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउनका लागि विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिए। देशभरका पाँच प्रमुख सहरहरू र विदेशका पाँच प्रमुख गन्तव्यहरूसँग भगिनी सम्बन्ध स्थापित गरी अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनलाई बल दिन कार्ययोजना अघि सारिएको छ। साथै, गैरआवासीय नेपाली संघ, विदेशी नियोग, राजदूतावास, अन्तर्राष्ट्रिय पर्यटन संघ तथा अन्य सम्बद्ध निकायहरूसँग सहकार्य गर्दै पोखराको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखिएको छ।
संयोजक गोपी बहादुर भट्टराईको नेतृत्वमा गठित कार्यसम्पादन समितिले भ्रमण वर्षलाई ऐतिहासिक बनाउन योजनाबद्ध ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। समितिले पोखराका प्राकृतिक, सांस्कृतिक र साहसिक गन्तव्यहरूलाई प्रवर्द्धन गर्दै, पर्यटकहरूको बसाइ अवधि लम्ब्याउने, सेवा सुविधामा सुधार ल्याउने र पर्यटन पूर्वाधारलाई सुदृढ गर्ने योजना अघि सारेको छ। पोखरा भ्रमण वर्ष २०२५ को सफल कार्यान्वयनका लागि महानगरपालिका, पर्यटन व्यवसायी, स्थानीय संघसंस्थाहरू, सुरक्षा निकाय तथा सम्पूर्ण पोखरेली समुदायको सहकार्य आवश्यक रहेको बताइएको छ।
पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरूले पोखराको भौतिक पूर्वाधार, पर्यटन व्यवस्थापन तथा तयारीका विषयमा गम्भीर प्रश्नहरू उठाए। यातायात व्यवस्थापन, ट्राफिक लाइटको अभाव, सडकको दुरावस्था, टुरिस्ट पुलिसको तयारी, बसपार्कको समस्या, फोहोरमैला व्यवस्थापन, ध्वनि प्रदूषण, पर्यटक बोक्ने सवारी साधनहरूको अवस्थासहित फेवा ताललाई अझ आकर्षक बनाउन नसकिएको विषयमा पत्रकारहरूले प्रश्न उठाएका थिए। केही पत्रकारहरूले पर्यटकीय पूर्वाधार सुधार नगरी भ्रमण वर्ष घोषणा गर्नु ‘केटाकेटी पाराको निर्णय’ भएको भन्दै आलोचना समेत गरे।
यसका जवाफमा नगर प्रमुख धनराज आचार्यले पत्रकारहरूको चासोलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाउँदै भने, “तपाईंहरूका प्रश्नहरू जायज छन्। महानगर यस्ता समस्या समाधान गर्न गम्भीर छ, र हामी छोटो समयमा नै सुधारका ठोस कदम चाल्नेछौं।” उनले ट्राफिक व्यवस्थापन सुधार, सडक मर्मत, टुरिस्ट पुलिसको क्षमतावृद्धि, फेवा ताल संरक्षण तथा अन्य पूर्वाधार सुधारको योजना बनिसकेको र त्यसलाई छिट्टै कार्यान्वयन गरिने बताएका छन ।