पोखरा,
पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सामाजिक विकास केन्द्रबाट सञ्चालित बालश्रम न्यूनीकरण, सामुदायिक विकास, जीविकोपार्जन तथा शिक्षा परियोजनाहरूको सामाजिक परीक्षण सम्पन्न भएको छ।
संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख चण्डिका पौडेल, गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारी, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी बेलकुमारी गुरुङ, राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले, नेपाल प्रहरी, शिक्षा क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी तथा परियोजनासँग सम्बन्धित विभिन्न सरोकारवालाको सहभागिता रहेको संघकी महासचिव शोभा गौतमले जानकारी दिनुभयो।
सामाजिक परीक्षणका क्रममा वरिष्ठ सञ्चारकर्मी तथा सामाजिक परीक्षक दीपेन्द्र श्रेष्ठले परियोजनाहरूको परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै पोखरालाई दीर्घकालीन रूपमा बालश्रममुक्त सहर बनाउन स्पष्ट रणनीतिक मार्गचित्र, नीतिगत ढाँचा र कार्ययोजना आवश्यक रहेको औँल्याउनुभयो। उहाँले पोखरा उद्योग वाणिज्य संघको सामाजिक विकास केन्द्रले पोखरा महानगरपालिका, प्रदेश सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा परियोजनाले गरेका काम, प्राप्त उपलब्धि, चुनौती तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा विस्तृत समीक्षा गरिएको थियो। सामाजिक परीक्षणका क्रममा उठेका सुझाव समेटिएको प्रतिवेदन सामाजिक परीक्षक श्रेष्ठले बुधबार संघका अध्यक्ष गोकर्ण कार्कीलाई हस्तान्तरण गर्नुभएको हो।
प्रतिवेदन ग्रहण गर्दै अध्यक्ष कार्कीले सामाजिक परीक्षणबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बालश्रमजस्तो सामाजिक विकृतिको अन्त्यका लागि पोखरा उद्योग वाणिज्य संघले आफ्नो तर्फबाट आवश्यक सबै प्रयास जारी राख्ने र सम्बन्धित निकायसँग सहकार्यलाई अझ प्रभावकारी बनाउने बताउनुभयो।