सुचना, समाचार र मनोरन्जन

प्रकाश सपुतले ‘वसन्त’मा कविता सुनाएर फकाए स्वस्तिमा (भिडियो सहित)

काठमाडौं :

गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वसन्त’को टिजर रिलिज भएको छ। रिलिज टिजरमा ‘मिलनको कविता’सुन्न सकिन्छ। सार्वजनिक टिजरमार्फत निर्देशकले मिलनको कविताबाट फिल्मका मुख्य पात्र प्रकाश सपुत र स्वस्तिमा खड्कालाई प्रेमिल भावमा देखाउने प्रयास गरेका छन्।

फिल्मको निर्माण टिमले यो टिजरलाई भ्यालेनटाइन डे स्पेशल कविता भनेको छ। यसअघि निर्माण टिमले फिल्ममा समावेश गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरेको थियो। जुन गीतले दर्शकमाझ राम्रो हाइप बनाउन सफल भएको अनुमान गर्न सकिन्छ। त्यसैले आज सार्वजनिक टिजर मिलनको कविताले पनि सिनेमाप्रति दर्शकको चासो बढाउने विश्वास निर्माण टिमको छ।

यस फिल्ममा निर्देशक तथा लेखक प्रकाश आफै मुख्य भुमिकामा अभिनय गरेका छन्। उनका अलवा स्वस्तिमा खड्का,प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ। गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिएको हो।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामामा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने निर्माण पक्षले जानकारी दिएको छ। आगामी चैत्र २२ गते चैते दशैंको अवसरमा नेपालभरका प्रदर्शनमा आउने
यो फिल्मका निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।
सुसन प्रजापतिले खिचेको यो फिल्मलाई काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.