काठमाडौं :
फिल्म ‘१२ गाउँ’को शोज घटेपछि निर्देशक तथा अभिनेता बिराज भट्ट रिसाएका छन्। फिल्मले बक्स अफिसमा राम्रो व्यापार जारी रहेको बेला नयाँ रिलिज ‘पूर्ण बहादुरको सारङ्गी’मा दर्शक बढेपछि फिल्मको शोज घटेको थियो।
शो घटेपछि निर्देशक भट्ट हलवालासँग रिसाका हुन्। विराजले भने,‘हलमा आउनु भएका अधिकांश दर्शकले पहिलो पटक फिल्म हेर्न आएको बताइरहनुभएको छ । तर, पर्याप्त शोज नहुँदा दर्शकले फिल्म हेर्न पाइरहेका छैनन् । यसैले, सबै प्रदर्शकलाई म शोजको विषयमा गम्भीर भइदिन आग्रह गर्दछु ।’
फिल्म ‘साङ्लो’असफल भएपछि बिरक्तीएका निर्देशक भट्टले फिल्म निर्माणमा हात हाल्ने आँट गरेका थिएनन्। तर छोरो समिरलाई हिरो बनाएको फिल्म ‘१२गाउँ’ले सफलता टेकेपछि उनी वर्षेनी फिल्म निर्माण गर्ने जानकारी दिएका छन्।
‘अब, हामीले पहिलेको जस्तो केही वर्षको अन्तरालमा मात्र फिल्म बनाउदैनौं,‘उनले मिडियासँगको कुराकानीमा भनेका छन्,‘अब, हरेक वर्ष हाम्रो कम्पनीले फिल्म बनाउँछ।’
उनले दसैंमा राम्रो कमाई गरेपछि अर्को वर्षको दशैं वा तिहारमा फिल्म रिलिज गर्ने गरि तयारी भइसकेको समेत जानकारी दिएका छन्। फिल्ममा विराजका अलवा उनका छोरा समीर भट्ट, मुरलिधर, काजिश कोइराला, न्यान्सी खड्का, सनिषा भट्टराई लगायतका कलाकारहरूको मुख्य भुमिका रहेको छ। निर्माण पक्षका अनुसार २३ करोड भन्दा माथिको ग्रस कलेक्शन गरेको दाबी गर्दै आएका छन्।