काठमाडौँ,
सङ्घीय संसद्, राष्ट्रिय सभाले मनसुनजन्य विपद् व्यवस्थापनका सम्बन्धमा सरकारलाई गम्भीर बन्न र प्रतिबद्धताहरू कार्यान्वयन गर्न निर्देशन दिएको छ। बैठकमा ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि भएको गहन छलफलपछि सभाले सरकारलाई मार्गनिर्देशन गरेको हो।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री सुधन गुरुङले सभामा व्यक्त गरेको प्रतिबद्धताका आधारमा प्राथमिकताका साथ कार्ययोजना कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए । निर्देशनमा लेखिएको छ, ‘हरेक आर्थिक वर्षको पुस मसान्त र असार मसान्तभित्र कार्यान्वयनको प्रगति विवरण सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन दिइन्छ।’ साथै, ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयहरूको अनुगमन गर्न सम्बन्धित विषयगत समितिहरूलाई समेत सक्रिय हुन भनिएको छ।
छलफलका क्रममा गृहमन्त्री गुरुङ र सांसदहरूबिच केही बेर ‘भनाभन’ समेत भएको थियो। नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले निर्मला पन्तको मुद्दा उठाउँदा गृहमन्त्रीले यस्ता प्रश्न यहाँ नसोध्नुस्’ भन्दै ठाडो जवाफ दिएपछि अन्य सांसदहरूले प्रतिवाद गरेका थिए । सांसद कर्णलेूसंसदीय व्यवस्थामा प्रश्न सोध्ने अधिकार खोस्न पाइँदैन भन्दै प्रतिवाद गरेपछि मन्त्री गुरुङले पछि रोष्ट्रमबाटै आफ्नो भाषा रुखो भएको भन्दै माफी मागे ।
उनले भने, ‘मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो, यसका लागि म क्षमाप्रार्थी छु र हजुरहरूसँग माफी माग्न चाहन्छु।’