काठमाडौं :
कुनै समयकी हिरोइन् तथा निर्माता समेत रहेकी ऋचा शर्मालाई निर्माण टिमले आमाको भुमिकामा लिन थालेका छन्। यसअघि प्रदर्शनमा आएको फिल्म ‘सारंग’देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’उनको भुमिका आमाको छ। स साना भुमिकामा अभिनय गर्न थालेकी ऋचाले हालै सन्तोष सेनको फिल्म ‘बलिदान’मा पनि अभिनय गरेकी छन्। जहाँ उनले भुमिका अभिनेता समीर भट्टकी आमाकै रहेको छ।
आमाकै भुमिकामा होस् या मास्टरको भुमिका उनले अफर आएका कुनै छुटाएकी छैनन्। मुख्य भुमिकामा अभिनय गर्दा गर्दै विवाह गरेपछि उनी जुनसुकै भुमिकामा देखिन थालेकी छन्। छोटो भुमिकामा देखिन थालेपछि सोमबार ‘राजागंज’को ट्रेलर रिलिज कार्यक्रममा उनलाई पत्रकारले अब मेकरले तपाईंलाई आमाको भूमिकाबाहेक अरुमा नदेखेका हुन् ? भन्ने प्रश्न गरेका थिए। पत्रकारको जवाफमा उनले पहिलो फिल्म ‘फस्र्ट लभ’मा नै आफूले आमाको भूमिका निर्वाह गरेको र आमाको भूमिका गर्न कुनै समस्या नभएको बताईन्।

उनले जवाफमा भनिन्,‘मैले पहिलो फिल्म ‘फस्र्ट लभ’मै आमाको भूमिका निभाएकी थिएँ । ‘हाइवे’मा पनि आमाको भूमिका थियो । यसपछि पनि आमाको भूमिका धेरै गरेँ । कलाकारको करिअरमा लिड रोल मात्र गर्न पाइँदैन। त्यसका लागि मानसिक रुपमा तयार हुनुपर्छ।’
ऋचा यतिकैमा अडिने मुडमा देखिइनन्। उनले आफुलाई निर्देशकले ‘पासिङ’ सिन मात्रै दिए पनि आफु गर्न तयार रहेको बताईन्। मानौ उनी जुनसुकै भुमिकामा भए पनि पर्दामा छाइरहन पाए हुन्थ्यो भन्ने लागेको उनको भावबाट बुझिन्थ्यो।
उनले थपिन्,‘मलाई फिल्म मात्र गर्न आउँछ । त्यसैले फिल्ममा मलाई १० सिन आए पनि, ५ सिन आए पनि, लिड आए पनि, सपोर्टिङ रोल आए पनि, पासिङ मात्रै आए पनि म काम गर्छु । यदि त्यो अर्थपूर्ण छ भने । त्यो सबै टिम र मेकरमा भर पर्ने कुरा हो । यसैले मलाई सपोर्टिङ वा आमाको रोलले कहिल्यै फरकै पारेन।’