काठमाडौं :
नेपाली लघु चलचित्र ‘रिहाना’ ले विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक मानिने दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (BIFF) मा वर्ल्ड प्रिमियर गर्ने भएको छ। महोत्सवको ३०औँ संस्करणमा ‘रिहाना’ले नेपालको तर्फबाट एकमात्र प्रतिनिधित्व गर्नेछ।
फेस्टिभलले सार्वजनिक गरेको आधिकारिक जानकारीअनुसार, फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ। यस वर्ष महोत्सवमा ३ हजारभन्दा बढी फिल्म पेस भएका थिए, जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ छनोटमा पर्न सफल भएको हो।
चलचित्रका निर्माता केदार भुसालले बुसान फेस्टिभलमा भएको छनोटलाई नेपाली कथा र सिनेमा क्षेत्रका लागि उल्लेखनीय उपलब्धि बताएका छन्। “नेपालका फरक–फरक कथाहरूलाई फरक विधामा प्रस्तुत गर्दै विश्वभर पुर्याउने लक्ष्यसहित काम गरिरहेका छौँ,” उनले भने, “बुसानको छनोटले थप हौसला दिएको छ।”
‘रिहाना’लाई अ दुम्सी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको हो। फिल्ममा मिराज मोशन पिक्चर्स, अन्डरग्राउन्ड टकिज, र पिक्चर फ्रेमको सहकार्य रहेको छ। चलचित्रको लेखन तथा निर्देशन सुरज पौडेलले गरेका हुन्। मुख्य भूमिकामा पृथु भट्ट र सृजना अधिकारी छन्।
फिल्मको छायांकन शिशिर विशंखे, सम्पादन गौरव कुमार मुल्लिक, कास्टिङ निर्देशक मदन श्रेष्ठ, साउन्ड डिजाइन र मिक्सिङ डिकेश खड्गी शाही, प्रोडक्सन डिजाइन रामलाल खड्का, सह–लेखन शैलेश आरसी (एलएसएम) ले गरेका छन्। कार्यकारी निर्माता रोशनी अधिकारी छन् भने निर्माणमा उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसालको संयुक्त लगानी रहेको छ।
बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल एसियाली सिनेमाको प्रवर्द्धनका लागि विश्वकै मुख्य मञ्चमध्ये एक हो। ‘एसियाको क्यान्स’ भनेर चिनिने यस फेस्टिभलमा छनोट हुनु कुनै पनि मुलुकको फिल्म उद्योगका लागि गर्वको विषय मानिन्छ। ‘रिहाना’को सहभागिताले अन्तर्राष्ट्रिय सिने बजारमा नेपाली सिनेमाको पहिचान अझ मजबुत हुने अपेक्षा गरिएको छ।
