पोखरा,
पोखराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले दुई दशकदेखी हुँदै आएको रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगरपालिका –२६ लेखनाथको गुदेताल, तालबेसीको फाटमा हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा यही असार १५ गते असारे रोपाइँ महोत्सव यो पटक लेखनाथको गुदेताल छेउमै फाटमा हुन लागेको हो ।
नेपाल सरकारले असार १५ लाई र्राष्ट्रिय धान दिवसको रुपमा मनाउदै आएको छ । २० औं रोपाइँ महोत्सव स्थानीय आयोजकको रुपमा शान्तीप्रेमी आमा समूह तालबेसी पोखरा २६ रहेको छ । महोत्सवमा धान रोप्नेसहित विभिन्न प्रतियोगिताहरु र मनोरन्जनात्मक कार्यक्रम हुनेछन् ।
आयोजकले महोत्स्व स्थल गुदेतालमा आज पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवमा हिलो खेल्ने, हिलोमा माछा समात्ने, डोरी तान्ने, हिले दौडसहित मनोरञ्जनात्कम कार्यक्रमहरु समावेश गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।
रोपाइँ महोत्सवमा स्वदेशी र बिदेशी गरी हजारौ मानिसले सहभागिता जनाउने आयोजकको दावी छ । महोत्सवमा गायिका चर्चित एवं लोकप्रिय कलाकारको साङ्गीतिक प्रस्तुति रहने बताइएको छ । हिले दौड प्रतियोगिता अन्तर्गत स्वदेशी र विदेशी पर्यटकको महिला र पुरुषका छुट्टाछुट्टै प्रतियोगिता हुनेछन् । भने प्रथम र दोस्रो हुनेले क्रमशः ५ हजार र ३ हजार नगद सहित मेडल र प्रमाणपत्र हात पार्नेछ्न ।
स्थानीय आयोजक शान्तीप्रेमी आमा समूह तालबेसीका अध्यक्ष देवीमाया ढुंगानाले महोत्सवको माध्यमबाट ओझेलमा परेको गुदे तालसङै लेखनाथको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताइन । महोत्सवले गुँदे तालसहित समग्र लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले बताए ।
कार्यक्रममा पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका सहसंयोजक दामोदर भक्त थापा, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, समाजसेवी बामदेव ढुङ्गानालगायतले बोलेका थिए । महोत्सव सम्पन्न गर्न अध्यक्ष पहारीको अध्यक्षतामा ४३ सदस्यीय मुल आयोजक समिती तथा १९ वटा विभिन्न उपसमिती एवं २१ सदस्यीय सल्लाहकार समिती गठन गरिएको आयोजकले जनाएको छ ।