मुम्बई :
बलिउड सुपरस्टार सलमान खानले फेरि एकपटक आफ्ना प्रशंसकलाई चकित पारेका छन्। मंगलबार उनले सामाजिक सञ्जालमा शर्टलेस तस्वीर पोस्ट गरेपछि उनको फिटनेस र शारीरिक रुपप्रतिको चर्चा व्यापक भएको छ।
पोष्ट गरिएको तस्वीरमा सलमानका सुदृढ एब्स र मसल्स प्रष्ट देखिन्छन्। उनका फ्यानहरूले यसलाई बलिउडमा फिटनेसको प्रतीकका रूपमा स्वागत गरेका छन्। सामाजिक सञ्जालमा सलमान खान र फिटनेस आइकन ट्रेन्डिङमा पुगेको छ। प्रशंसकहरूले उनलाई ‘बलिउडको फिटनेस आइकन’ र ‘टाइगर इज ब्याक’ भन्दै उत्साह व्यक्त गरेका छन्।
सलमानले विगतमा पनि आफ्नो शरीर र फिटनेसको कारण बलिउडमा विशेष पहिचान बनाएका थिए। ‘वान्टेड,सुल्तान’ र ‘टाइगर’सिरिजका फिल्महरूमा उनका शारीरिक प्रस्तुति र एक्सन दृश्यले दर्शकमा ठूलो प्रभाव पारेको थियो। यी फिल्महरूले सलमानको फिटनेसलाई बलिउडको उदाहरणको रूपमा प्रस्तुत गरेका थिए।
उनको पछिल्लो शर्टलेस तस्वीरले प्रशंसकहरूको मन जित्नुको साथै आगामी परियोजनाबारे उत्सुकता पनि बढाएको छ। सलमान अहिले आफ्नो नयाँ फिल्मको तयारीमा व्यस्त रहेको भारतिय मिडियाहरुले उल्लेख गरेका छन्। भारतिय मिडियाका अनुसार आगामी फिल्ममा उनलाई उच्च स्तरको एक्सन र शारीरिक चुनौतीहरूको सामना गर्नु पर्ने छ, जसका लागि उनी विशेष फिटनेस र एक्सन ट्रेनिङमा जुटिरहेका छन्।
सलमानका प्रशंसकहरूले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया दिएका छन्। केहीले फोटोमा देखिएको एब्सको प्रशंसा गर्दै आफ्नो प्रेरणाको स्रोत मानेका छन् भने केहीले उनलाई आफ्नो ‘फिटनेस आइकन’को रूपमा चित्रित गरेका छन्। ट्रेन्डिङ ह्यासट्याग फिटनेस आइकनले बलिउडमा फिटनेसको महत्वलाई पुनः उजागर गरेको छ।
सलमानले विगतमा पनि आफूलाई फ्यानहरूको नजरमा कायम राख्न विभिन्न वर्कआउट र डाइट रुटिन अपनाउँदै आएका छन्। उनका करीबी स्रोतका अनुसार उनी आफ्नो आगामी फिल्मको लागि अझै कडा प्रशिक्षणमा जुटेका छन्। पछिल्लो पटक सलमानले ‘टाइगर ३’ मा अभिनय गरेका थिए। आगामी फिल्मको आधिकारिक घोषणा केही साताभित्रै हुने बताइएको छ।