सुचना, समाचार र मनोरन्जन

गोमा अधिकारीको डिजाइनमा अन्तर्राष्ट्रिय फेस्टिभलमा चम्किइन् सरिता

काठमाडौँ :

गायिका तथा अभिनेत्री सरिता भारतीले आफ्नो फिल्म ‘द चेन्ज’ मार्फत बंगलादेशमा सम्पन्न ६औँ बुगेरा अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलबाट ‘अनरेभल मेन्सन अवार्ड’ प्राप्त गरेकी छन्। यो सरिताको पहिलो अन्तर्राष्ट्रिय फेस्टिभल सहभागिता हो।

चार दिनसम्म चलेको उक्त फेस्टिभलमा नेपालबाट सरितासँगै निर्देशक डब्बु क्षेत्री र अभिनेता प्रवण भुसाल सहभागी भएका थिए। सरिता भारतीले मुख्य भूमिका निर्वाह गरेको फिल्म ‘द चेन्ज’ फेस्टिभलको अन्तर्राष्ट्रिय इनडोर समूहमा छनोट भएको थियो । यही फेस्टिभलबाट फिल्म ‘द चेन्ज’ले अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ ‘अनरेभल मेन्सन अवार्ड’ जित्न सफल भएको हो।

फेस्टिभलका लागि सरिता भारतीको विशेष पहिरन अग्रज फेसन डिजाइनर तथा बाटिका क्रिएसन थापागाउँकी अध्यक्ष गोमा अधिकारी धितालले तयार गरेकी थिइन्। रेड कार्पेटमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन सरिता बंगलादेश गएकी थिइन्। गोमा अधिकारीले राष्ट्रिय भाव झल्कने पहिरन डिजाइन गरेकी थिइन् । सेतो सारीमा इम्ब्रोइडरीमार्फत नेपालको राष्ट्रिय पन्छी डाँफे राखिएको थियो भने रातो मखमली चोलोमा हिमाल र राष्ट्रिय फूल लालीगुराँस समेटिएको थियो।

६औँ बुगेरा अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलको रेड कार्पेट तथा अवार्ड समारोहमा सरिता भारती उक्त पहिरनमा आकर्षक देखिएकी थिइन्। उनको पहिरनको दर्शक तथा सहभागीहरूले खुलेर प्रशंसा गरेका थिए। धेरैले पहिरनमा समेटिएको डाँफे, लालीगुराँस र समग्र फेसन डिजाइनप्रति चासो व्यक्त गरेका थिए। फेसन डिजाइनर गोमा अधिकारी धिताल विगत एक दशकदेखि फेसन डिजाइन क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।

Leave A Reply

Your email address will not be published.