काठमाडौं :
बिहीबारदेखि नेपालभरका सिनेमा हलमा तीन नेपाली फिल्म एकैसाथ प्रदर्शनमा आउँदै छन्। मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ स्टारर ‘गोबर गणेश’, सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित ‘भाइरल गोर्खे’ तथा दयाहाङ राई र प्रकाश सपूत स्टारर ‘मिरमिरे’ प्रदर्शनको तयारीमा छन्। माघ महिनाको सुरुवातसँगै हलमा फिल्मको चाप बढ्ने संकेत देखिएको छ। सामाजिक कथावस्तुमा आधारित यी तीनै फिल्मबीच बिहीबारदेखि बक्सअफिस प्रतिस्पर्धा सुरु हुँदैछ।
‘गोबर गणेश’ मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को पारिवारिक संघर्षको कथा
मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को मुख्य भूमिका रहेको फिल्म ‘गोबर गणेश’ पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित छ । १४० मिनेट रनटाइमको यस फिल्ममा आमालाई खुसी पार्ने सपना बोकेर गाउँबाट सहर पुगेका एक युवकको संघर्ष देखाइएको छ । सहरमा उसले धोका, अपमान र एक्लोपनसँग जुध्नुपर्छ । आमा र प्रेमिकाको हौसलाले उसलाई चुनौतीसँग लड्ने शक्ति दिन्छ ।
फिल्ममा मरिचमान श्रेष्ठसँगै वर्षा शिवाकोटी,पूजन घिमिरे,सीतादेवी तिमल्सिना र पदम तामाङको अभिनय रहेको छ। यस फिल्मले बिहीबारका लागि देशभर ११२ शो प्राप्त गरेको छ।
‘मिरमिरे’ दयाहाङ राई र प्रकाश सपूतको भावनात्मक पारिवारिक कथा
दयाहाङ राई र प्रकाश सपूत स्टारर फिल्म ‘मिरमिरे’ बाबु–छोरी र प्रेम सम्बन्धको कथामा आधारित छ । पारिवारिक संवेदना र भावनात्मक पक्षलाई केन्द्रमा राखिएको यस फिल्मको रनटाइम १०५ मिनेट रहेको छ। देशव्यापी रूपमा यस फिल्मले १३० शो पाएको छ, जुन तीन फिल्ममध्ये सबैभन्दा धेरै हो ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्ममा सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको पनि अभिनय छ ।
‘भाइरल गोर्खे’ सौगात मल्ल र सृष्टि श्रेष्ठको सामाजिक सञ्जालमाथि प्रहार
सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘भाइरल गोर्खे’ सामाजिक सञ्जालमा भाइरल बन्ने प्रवृत्ति र त्यसले व्यक्ति तथा समाजमा पार्ने असरको कथामा आधारित छ ।
१४६ मिनेट रनटाइमको यस फिल्मले बिहीबार देशभर १०७ शो प्राप्त गरेको छ । सामाजिक सञ्जालको गलत प्रयोग, चर्चाको लालसा र त्यसबाट सिर्जित समस्यालाई फिल्मले कथावस्तु बनाएको छ ।