सुचना, समाचार र मनोरन्जन
tigar

विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा

 

सर्लाही : यहाँस्थित बागमती नगरपालिकामा जन्मोत्सव र विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा जम्मा हुन थालेको छ।

 

बागमती नगरपालिका- २ धरहरास्थित जनबाल कल्याण माध्यामिक विद्यालयको विकासका लागि स्थानीय, सामाजिक व्यक्तित्व, पूर्वविद्यार्थीलगायतले विभिन्न अवसरमा हुने खर्च कटाएर विद्यालय विकास कोषमा जम्मा गर्न शुरु गरेका हुन्। विद्यालयले गत मङ्सिर १ गतेबाट ‘बृहत् जनबाल कल्याण माध्यमिक विद्यालय विकास अक्षयकोष’ स्थापना गरेको हो।

एक महिनामा अक्षयकोषमा  एक लाख ३० हजार ५०७ सङ्कलन भएको प्रधानाध्यापक प्रकाशबहादुर जिम्बाले जानकारी दिए। आन्तरिक आयस्रोतको राम्रो व्यवस्था नभएकाले सामाजिक सहकार्यमा विद्यालयको शैक्षिक सुधार प्रयास गरिएको उनको भनाइ छ।

यसरी सङ्कलित रकमबाट निर्माण हुने बृहत् कोषले विद्यालयको विकासमा टेवा पुग्ने उनले बताए। ‘बृहत् राशिको कोष बनाउने लक्ष्य छ, कोषको मूल रकम यथावत रहनेगरी ब्याजबाट विद्यालयले बर्सेनी विभिन्न विद्यालय विकास तथा शैक्षिक गुणस्तर सुधारका काम गर्ने छ’, प्रधानाध्यापक जिम्बाले भने।

sfal

यसले एकातर्फ विद्यालयलाई आर्थिक सहयोग बढ्ने र अर्कातर्फ अभिभावक तथा समाजको प्रत्यक्ष लगानीसँगै चासो बढ्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष टङ्कबहादुर बोहराले बताए। विद्यालयको सिकाइ सुधारमा पनि क्रमिक सुधार हुँदै आएको उनले दाबी गरे।

‘हामीले नगरको प्रत्यक्ष लगानी र जनप्रतिनिधिको उपस्थितिमा विद्यालयको भौतिक र शैक्षिक सुधारमा विषेश ध्यान दिएका छौँ, यसले विस्तारै परिणाम दिन थालेको छ। यसको पूरा परिणाम आउन कम्तीमा १० वर्ष लाग्छ। तर सुधारको संकेत तपाईँ अहिले पनि देख्न सक्नुहुन्छ’, अध्यक्ष बोहराले भने।

कक्षा १० सम्म अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा बालबालिकाको सङ्ख्या दुई गुणाले बढेको छ। मुस्किलले तीन सय छात्रछात्रा भर्ना हुनेमा अहिले ६१० विद्यार्थी भर्ना छन्। अभिभावकको माग तथा बालबालिकाको चाहनाअनुसार विद्यालयले अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गराउने गरेको छ।

अङ्ग्रेजी माध्यमका कारण अभिभावक आकर्षित भएका विद्यालयका शिक्षक निर्मल तिमल्सेनाले बताए। विद्यालयले बालबालिकालाई नैतिक आचरणसहितको व्यवहारिक शिक्षामा जोड्न विभिन्न सीपमूलक तालिम पनि सञ्चालन गर्ने गरेको छ। सिमेन्टको गमला उत्पादनलगायत सीपमा बालबालिका निपूर्ण रहेका बागमती-३ का अभिभावक चत्तुरमान वाइबाले बताए।

गाउँको सामुदायिक भनेर हेपिएको विद्यालयले समय अनुकुल पठनपाठन गराउन थालेपछि आफूहरू उत्साहित भएको उनी बताउँछन्। यो विद्यालयले केही समय पहिले स्थानीय अभिभावक, समाजसेवीको चार लाख ४० हजारबराबरको सहयोगमा विद्यालयमा चार थान डिजिटल बोर्डको प्रयोग थालेको छ।

Leave A Reply

Your email address will not be published.