काठमाडौं :
फिल्म ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन्। निर्माण पक्षले उनलाई दयाहाङ राई र प्रकाश सपूतपछि फिल्ममा प्रवेश गराएको हो।
सिर्जनाले यसअघि दयहाङसँग फिल्म ‘कार्साङ’मा सहकार्य गरेकी थिइन्। यस फिल्ममा पनि उनको जोडी कै रुपमा सिर्जनाले काम गर्न लागेको बुझिएको छ। तर निर्माण पक्षले भने जानकारी दिएको छैन। यसअघिको फिल्ममा दया र सिर्जनाको खुबै तारिफ भएको थियो।
सिर्जनाले मिडियासँगको कुराकानीमा भनिन्,‘मिरमिरेमा अनुबन्धित हुन पाउँदा खुसी छु । महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित भएकी छु। यो विश्वासका लागि सबैभन्दा पहिला निर्माण टिम र निर्देशकलाई धन्यवाद भन्छु।’
उनले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रयास गर्ने पनि प्रतिबद्धता जनाइन्। ‘मिरमिरे’मा सिर्जनाको जोडी को हुने हो भन्ने विषयमा निर्माणपक्षले केही खुलाएको छैन।
अन्य कलाकारको लाइनअपबारे निर्माण टिमले जानकारी दिएको छैन। तर, हालसम्मका कलाकार हेर्दा बलियो लाइनअप ‘मिरमिरे’मा देखिने निश्चित देखिएको छ।
यम शेर्पाको निर्देशनमा बन्न लागेको यो फिल्ममा उनले सिनेमा राम्रो बनाउन कलाकार र प्राविधिकको लाइनअप बलियो बनाउने बताए। यार्सा फिल्म्सको प्रस्तुति रहने यस फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिए। निर्देशनसँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका हुन्।
फिल्ममा लगानी निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा रहेका छन् भने सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यस फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक तथा फिल्म वितरक रोहित कट्टेल रहेका छन्। ‘मिरमिरे’लाई २०८२ मा रिलिज हुनेछ।