सुचना, समाचार र मनोरन्जन

सिन्धुली कलाघरः जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सिन्धुली /

नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ । दलानमा बाँसबाट बनाइएका आकर्षक मुड्का लस्करै छन् । अतिथि सत्कारका लागि राखिएका मुड्का कुनै खाली छैनन् ।

मञ्चमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मले विभिन्न लोपोन्मुख सांस्कृतिक प्रस्तुतिहरु पस्किरहेका छन् । दर्शकदीर्घा हरेक दिन भरिन्छ, बच्चादेखि बुढासम्मको उपस्थितिले । २०८१ चैत २८ गतेदेखि यहाँ राष्ट्रिय कला महोत्सव चलिरहेको छ । महोत्सवमा नेपालको मौलिक जीवनशैली झल्किने वस्तुहरू सजिएका छन् । परम्परागत घरको नमूना बनाइएको छ । यहाँ प्रदर्शन गरिएका रोङ्गटे पिङ, ऐतिहासिक पुरातात्विक सामग्रीहरु, मौलिक बाजागाजादेखि जातीय झाँकी, गीत, लोक नृत्यमा संस्कृति बोलिरहेको छ । अर्गानिक खाद्यवस्तु, चियादानीमा उमालेको चिया र घरजत्रै ठेकीको मोहीसम्ममा नेपालीपन झल्किएको देखिन्छ ।

खैंजडी भजनको लय, सुर र ताल, लोकदोहोरीको मिठास, स्थानीय र राष्ट्रिय कलाकारहरूको मन छुने प्रस्तुति महोत्सवका विशेषता हुन् । महोत्सवको भव्य उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाबाट भएको थियो । वैशाख ३ गतेसम्म चल्ने यो महोत्सवमा हजारौँ दर्शकले आ–आफ्नो संस्कृति र पहिचानलाई नजिकबाट सिक्न, बुझ्न पाइरहेका छन् ।

चपौली, बागमती प्रदेशको कमलामाई नगरपालिका–३ सिन्धुलीमा पर्दछ । यहाँको शान्त र सुरम्य परिवेशमा निर्माणाधीन छ, ‘राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कलाघर’ । कलाघर पुग्न बिपी राजमार्गको सोलाभन्ज्याङ हुँदै सिन्धुलीगढी पार गरेर सात किलोमिटर अगाडि बढ्नुपर्छ । कालोपत्र सडकले यहाँ पुग्न सहज बनाएको छ । महोत्सव नचल्दा पनि पर्यटकलाई आकर्षित पार्दै गइरहेको यो स्थानले सिन्धुलीलाई कला नै कलाको पहिचानका रुपमा चिनाउँदै छ ।

सिन्धुली कलाघरको प्राण हुन्, कलाकार चित्रबहादुर थापामगर ‘सुमन’ । चपौलीको स्थानीय बासिन्दासमेत रहेका उनी सिन्धुली कलाघरको परिकल्पनाकार हुन् । कलाघरभित्र अनेक कलाहरु निर्माण गरी प्रदर्शनमा राखिएका छन् । चार रोपनी क्षेत्रफलमा फैलिएको कलाघर परिसरमा धार्मिकस्थल पशुपतिनाथ, बौद्धस्तूपा, भगवान् गौतमबुद्धको जन्मस्थान लुम्बिनी, जानकी मन्दिर, नौतले धरहरा, डम्फु, विश्वकै ठूलो सारङ्गी, मादल, मौलिक घुमाउने घर, लटरम्म फलेको जुनारको बोट, काठ तथा जराबाट बनाइएका कलाहरु, नेपाली मौलिक लोकबाजाहरु, परम्परागत लोपोन्मुख घरेलु तथा कृषि सामग्रीहरु, क्यानभास चित्रहरुलगायतका मौलिक संरचनाहरु कलामा रङ्गिएर बसेका छन् ।

सिन्धुली कलाघर नेपाली मौलिकताको सम्मान, संस्कृति प्रवद्र्धन र सम्पूर्ण कला सिकाइको केन्द्र हो । बाहिरबाट हेर्दा सामान्य देखिने कलाघरभित्र अद्भुत कलाहरु सङ्ग्रहित छन् । गौरीशङ्कर हिमालको टाकुरोबाट टल्किने दृश्य यहीँबाट देखिन्छ । प्राकृतिक सुन्दरता, शान्त परिवेश र प्रेरणादायी वातावरणले यहाँ पुग्ने सबैको मन मोहित बनाउँछ ।

अबको १० वर्षभित्र १९५ मुलुकलाई कलाको स्वरुपमा उतारेर कलाघरलाई ‘विश्व कलाघर’ का रुपमा विकास गर्ने सङ्कल्पका साथ खटिएको सिन्धुली कलाघरका अध्यक्षसमेत रहेका कलाकार सुमनले जानकारी दिए । उनले भने, “हामी कलाघरलाई यतिमै सीमित राख्दैनौँ, यो हाम्रो जीवनशैली, संस्कार र सम्पदा हो । -अनलाईनखवर

Leave A Reply

Your email address will not be published.