सुचना, समाचार र मनोरन्जन

स्रष्टा डा.आशबहादुर तामाङको ‘सिपाहीको कलमबाट’ चर्चा परिचर्चा

काठमाडौं :

स्रष्टा डा.आशबहादुर तामाङको लेखनमा रहेको पुस्तक ‘सिपाहीको कलमबाट’ अंक २ को चर्चा र परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।गीतकार संघ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा संघका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्व रहेको थियो भने पूर्वमन्त्री तथा प्रतिष्ठित गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो।

गीतकार संघ नेपालको सभाहलमा भएको ‘श्रष्टा र सिर्जना–चर्चा र परिचर्चा’ कार्यक्रममा साहित्यकार उपरथी आश बहादुर तामाङ (पिएचडी) को कविता, गीत–गजल, लेखको सङ्ग्रह ‘सिपाहीको कलमबाट अङ्क २’ माथि गीतसंगीत एवं साहित्य क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरुले चर्चा तथा परिचर्चा गरिएको थियो।

स्रष्टा डा.आशबहादुर तामाङको बारेमा बोल्दै कवि गीतकार आनन्द अधिकारीले उहाँको पारिवारिक तथा कला साहित्यको बारेमा विचार व्यक्त गर्नुभएको थियो। स्रष्टा तामाङका बुबा चन्द्र बहादुर तामाङ र माता धनमाया तामाङ लमजुङ जिल्लाका ठाडो भाकाका गायक तथा गायिका भएको हुँदा त्यसको निरन्तरतामा सांगीतिक घराना बन्नेतर्फ डा.तामाङ लाग्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना दिए। गीतकार अधिकारीले स्रष्टा तामाङको पारिवारिक पृष्ठभूमि नै संगीतमय भएको र सँगसँगै सुरक्षा सेवामा रहँदा पनि सिर्जनाको उभार आएको बताउँदै साहसी सिपाही र सिर्जनाका धनी भएको बताए।

त्यसैगरी संस्कृतविद् बुलु मुकारुङले स्रष्टा आशबहादुर तामाङद्वारा लेखिएका कविता, गीत र गजल सिर्जनाको बारेमा बोल्दै बहुप्रतिभाशाली व्यक्तित्व भएको बताउनुभएको थियो। मुकारुङले तामाङको भूगोल, पारिवारिक पृष्ठभूमि र सुरक्षा क्षेत्रमा रहँदा गरिएका सिर्जनाले राष्ट्रभक्त निडर सिपाही मात्र नभएर बहुप्रतिभाशाली सर्जक भएको बताइन्। त्यसैगरी डा.आशबहादुर तामाङका लेख रचना खण्डका बारेमा बोल्दै प्रा.डा. रवीन्द्र खनालले आफ्नो विद्यार्थीको प्रगतिले मनमा खुशी छाएको बताए। अमेरिकी शान्ति सेनामा जाँदाको विषयलाई लिएर पिएचडी गरेका तामाङलाई अध्यापन गराउँदा ताकादेखि उनको जीवनीको सम्पूर्ण पाटोहरु केलाउँदा लेख रचनाभित्र पनि राष्ट्रप्रेम, देशप्रेम, साहसी सिपाहीको गुणगानदेखि साहित्य, कला, संस्कृतिको पाटोलाई समेत नजिकबाट बुझेको व्यक्तिका रुपमा डा.आशबहादुर तामाङलाई पाएको भनाई राखे।

त्यस्तै डा.आशबहादुर तामाङकी आमा धनमायासँग सांगीतिक सहकार्य गरेका वरिष्ठ गायक, निर्देशक, संगीतकार नारायण रायमाझीले शुभकामना मन्तव्य राखे। उनले पारिवारिक संगत र डा.आशबहादुर तामाङको सिर्जनशील चेतलाई नजिकबाट नियालेको बताउँदै सिङ्गो प्रतिभाको खानी भएको बताए। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार एसपी कोइरालाले डा.आशबहादुर तामाङ विशिष्ठ श्रेणीका सर्जक भएको बताउँदै सिपाहीका रुपमा मात्र वाङ्मयको सिङ्गो भण्डार भएको बताए। उनको सांगीतिक चेत, काव्यिक चेतसँग देश अनुसार परिवेशलाई छर्लङ्ग पारिएको समेत प्रमुख अतिथि कोइरालाले बताईन्।

कार्यक्रमलाई संघका उपाध्यक्ष रमेश कोइरालाले स्वागत मन्तव्यद्वारा अतिथिहरुलाई स्वागत गरेका थिए भने सुमन बैरागीले कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई संघका कोषाध्यक्ष चेतन खतिवडा र कार्यालय सचिव मेरी मग्रातीले खादाद्वारा स्वागत गरेका थिए।

कार्यक्रमलाई समापन गर्दै गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाले स्रष्टा तामाङ सशक्त कवि, गीतकार र गायकका रुपमा परिचय स्थापित गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना दिदै उनले सिर्जना जति सशक्त छन् त्यति नै अबका दिनमा सशक्त सिर्जनाको कार्यमा लाग्नु प्रेरित हुनुपर्छ भन्दै अध्यक्ष थापाले बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकारका बारेमा पनि सबैलाई एकजुट भएर लाग्न अनुरोध गगरेका थिए। कार्यक्रममा डा.आशबहादुर तामाङको रचनामा रहेको अडियो ‘गोर्खाली’ सार्वजनिक गरिएको थियो । यस गीतका संगीतकार अमूल कार्की ढली हुन् भने अयुमी तामाङ, एलिना बि.क. र सुरज थापाको स्वर रहेको थियो।

Leave A Reply

Your email address will not be published.