पोखरा,
करिब २६ वर्षअघि पोखरा उद्योग वाणिज्य संघको कार्यालयअगाडि सानो चिया पसलबाट व्यवसायिक यात्रा सुरु गरेकी महिला उद्यमी शोभा गौतमले संघको ७२ वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष निर्वाचित हुँदै नयाँ इतिहास रचेकी छन्।
संघर्ष, निरन्तरता र नेतृत्वप्रतिको विश्वासलाई आत्मसात् गर्दै अघि बढेकी गौतमको व्यवसायिक यात्रा भने सहज थिएन। चिया पसलबाट व्यवसायको सुरुवात गरेकी उनले पोखराको महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ सञ्चालन गरिन्। त्यसपछि लुब्रिकेन्ट, फेसन तथा इभेन्ट मार्केटिङ, रेस्टुरेन्ट, कृषि तथा ग्रोसरीलगायत विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गर्दै अघि बढिन्।
विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरेको अनुभवले उनलाई साना तथा मझौला व्यवसायीका समस्या, चुनौती र सम्भावनासँग प्रत्यक्ष रूपमा जोड्यो। यही अनुभवलाई संस्थागत नेतृत्वमा उपयोग गर्दै उनी पोखरा उद्योग वाणिज्य संघको यात्रामा अघि बढिन्।
विसं २०७३ मा संघको साधारण सदस्यका रूपमा संस्थागत यात्रा सुरु गरेकी गौतमले सदस्य, उपमहासचिव हुँदै महासचिवको जिम्मेवारीसमेत सम्हालिन्। कार्यसमिति सदस्यमा सर्वाधिक मतसहित निर्वाचित भएको अनुभव बोकेकी उनी अन्ततः अध्यक्ष पदमा निर्वाचित हुन सफल भइन्।
‘सुदृढ संघ, सक्षम नेतृत्व’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी गौतमले संघलाई सबै उद्योगी–व्यवसायीको साझा घरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै आएकी छन्।
कृषि तथा पर्यटन प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, वित्तीय साक्षरता, सीप विकास, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा ‘मेड इन पोखरा’ अभियान उनका प्रमुख प्राथमिकताका विषय हुन्।
गौतमको विजयलाई केवल अध्यक्ष पदमा प्राप्त सफलताका रूपमा मात्र नभई व्यवसायको सानो सुरुवातबाट निरन्तर मेहनत, धैर्य र स्पष्ट लक्ष्यका साथ अघि बढ्दा नेतृत्वको सर्वोच्च जिम्मेवारीसम्म पुग्न सकिन्छ भन्ने प्रेरणाका रूपमा समेत हेरिएको छ।
चिया पसलबाट सुरु भएको २६ वर्षे संघर्षपूर्ण व्यवसायिक यात्रा अब पोखरा उद्योग वाणिज्य संघको इतिहासमा समेत अंकित भएको छ। गौतमको नेतृत्वसँगै संघले पहिलोपटक महिला अध्यक्ष पाएको हो।
उनको नेतृत्वले आगामी पुस्ताका महिला तथा युवा उद्यमीलाई व्यवसायसँगै संस्थागत नेतृत्वमा अघि बढ्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ।