काठमाडौं :
धरानका मेयर हर्क साम्पाङले चलाएको सुम्निमा–पारुहाङको प्रतिमा स्थापना गर्न अभियानमा सेलिब्रेटीले पनि साथ दिएका छन् । सोमबार काठमाडौंमा आयोजित छलफलमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राई लगायतले आर्थिक सहयोगको घोषणा गरेका हुन् ।
यो अभियान साथ दिनका लागि उनीहरुले जनही १÷१ लाख रुपैयाँ सहयोग गर्ने बचन दिएका छन् । अन्य कलाकारहरु शान्तिराम राई, सत्यकला राई, एलिसा राई, अशोक मुकारुङ पनि छलफलमा सहभागी भएका थिए ।अभिनेता दयाहाङले सुम्निमा–पारुहाङको प्रतिमा स्थापनाले धरानको पर्यटनलाई मात्र नभएर नेपालको पर्यटनलाई पनि सघाउ पुग्ने विश्वास ब्यक्त गरेका छन् ।
‘हामीले किराँती दर्शनलाई जसरी बुझेका छौं, त्यसलाई हामीले बाहिर लैजान सकेका छैनौं’ दयाहाङले भने ।
आइतबार भएको छलफलमा विल्सन उपस्थित हुन नपाए पनि आफ्नो पुर्ण समर्थन रहेको कुरा फेसबुकमा लेखेका छन् । किराँतको सुम्निमा–पारुहाङको एउटा इतिहास बोकेको प्रतिमा हामीलाई मात्रै हैन भावि पुस्तालाई पनि आवश्यक रहेको अभिनेता विल्सन विक्रम राईले बताएका छन ।
कलाकारको साथ पाउँदा धरानका मेयर साम्पाङले आफूलाई भाग्यमानी महसुस गरेको बताए ।