हेटौँडा :
शनिबारबाट उत्तरी मकवानपुरको थाहा नगरपालिकामा फिल्म फेस्टिभल सुरु भएको छ। पर्यटन प्रवर्द्धन र थाहा लाई मिनी फिल्म सिटी बनाउने उद्देश्यका साथ पहिलो थाहा फिल्म फेस्टिभल भएको हो।

आजबाट सुरु भएको फेस्टिभल मंसिर १५ सम्म हुने आयोजकले जनाएको छ। फेस्टिभलमा डोसान, राधा, बुलबुल प्रकाश लगायतका फिल्म प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ। प्रतियोगिता अवधिभर सयौँको संख्यामा नेपाली चलचित्रका कलाकार, निर्माता तथा निर्देशकहरू आएर थाहा क्षेत्रको अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।
फेस्टिभलमा चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग लगायत प्रदर्शन हुने छन् भने थाहा नगरमा चलचित्र छायांकनको स्थल विकास तथा प्रचार समेत गरिनेछ। नगरपालिकामा क्रियाशील थाहा कला केन्द्रले पर्यटनका लागि फिल्म फेस्टिभल भन्ने नाराका साथ आयोजकले विभिन्न पर्यटकीय स्थलमा चलचित्रकर्मीलाई भ्रमण समेत गराउने छ ।
आयोजक थाहा कला केन्द्रका सानुबाबु मोक्तानका अनुसार चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग तथा इत्यादिका निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई थाहा नगरपालिकासँग पारस्परिक गराउन प्रयास समेत गरिने उदेश्य राखिएको छ। कार्यक्रमको कुल लागत २७ लाख ८० हजार लाग्ने अनुमान गरिएको छ ।