पोखरा,
प्याराग्लाइडिङ दुर्घटनामा असामयिक रूपमा दिवंगत हुनुभएका अन्तर्राष्ट्रिय पाइलट स्वर्गीय निस्सिम थापाको ३२औँ जन्मजयन्ती पोखरामा श्रद्धा, सम्मान र भावपूर्ण वातावरणबीच मनाइएको छ।
आयोजित कार्यक्रममा पश्चिम पृतनाका महा सेनापति जयराम बानियाँ, गण्डकी प्रदेश खेलकुद परिषद्का अध्यक्ष मिलन गुरुङ, खेलकुद पत्रकार महासंघका प्रतिनिधि, विभिन्न खेलकुद संघ–संस्थाका पदाधिकारी, निस्सिम फाउन्डेसन परिवार, निस्सिम स्कुल परिवार, समाजशास्त्र (एम.ए.) अध्ययनका सहपाठी प्राञ्जलसहित साथीहरू, फाउन्डेसनका सदस्य तथा कार्यक्रम सञ्चालक राजु थापा, कोषाध्यक्ष सागर क्षेत्री, सदस्य सुरज थापा, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वर्गीय निस्सिम थापाले नेपालको साहसिक पर्यटन तथा प्याराग्लाइडिङ क्षेत्रको विकासमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै उहाँका आदर्श, सपना र प्रेरणालाई आगामी पुस्तासम्म निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। सहभागीहरूले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको प्रेरणादायी व्यक्तित्व र योगदान सधैँ स्मरणीय रहने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा निस्सिम फाउन्डेसनले स्वर्गीय निस्सिम थापाको स्मृतिलाई सम्मान गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण विशिष्ट अतिथि, सहयोगी, साथीभाइ, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
