काठमाडौं :
फिल्म ‘द ब्लू लाइट’ यहीँ माघ १६ गतेदेखि प्रदर्शनमा आउँदै छ। रिलिज नजिकिँदै जाँदा फिल्मले राम्रै चर्चा बटुलिरहेको छ। बलिराम चौहानको निर्देशनमा बनेको यो फिल्म उनको डेब्यु निर्देशन हो। पहिलो फिल्म भए पनि ‘द ब्लू लाइट’ मा थुप्रै स्थापित कलाकारहरूको सहभागिता छ।
निर्देशक चौहानका अनुसार यो फिल्म एकपटक हेरेर बिर्सिने खालको नभई दर्शकले अनुभूत गर्ने सिनेमा हो। मानव मन, एक्लोपन, वास्तविकता र भ्रमबीचको सूक्ष्म रेखालाई केलाउने प्रयास फिल्मले गरेको उनी बताउँछन्। आफू रातारात चम्किएर त्यसैगरी हराउने योजनामा नभएको उल्लेख गर्दै उनले नेपाली फिल्म उद्योगमा लामो यात्राको तयारीसहित प्रवेश गरेको दाबी गरे।
फिल्म ‘द ब्लू लाइट’ का बारेमा निर्देशक बलिराम चौहानसँग गरिएको संक्षिप्त संवाद :
‘द ब्लू लाइट’ कस्तो फिल्म हो, ताकि पछिल्लो समय नेपाली सिनेमाबाट निराश दर्शक पनि हलसम्म आउन प्रेरित होऊन् ?
‘द ब्लू लाइट’ एक मनोवैज्ञानिक ड्रामा–थ्रिलर हो। यो केवल हेर्ने मात्र होइन, अनुभूत गर्ने सिनेमा हो। यसले मानव मन, एक्लोपन तथा वास्तविकता र भ्रमबीचको सूक्ष्म रेखालाई अन्वेषण गर्छ।
ट्रेलर हेर्दा त फिल्म हरर जस्तो देखिन्छ, हो ?
होइन। ट्रेलरमा केही डर लाग्दा दृश्य देखिए पनि यो हरर फिल्म होइन। डर लाग्ने दृश्य देखिँदैमा त्यसलाई हरर भन्न मिल्दैन। हाम्रो फिल्मले हररको पाटो छुँदैन।

फिल्ममा स्टार कलाकारहरूको राम्रो जमघट देखिन्छ। उनीहरूलाई पात्रमा फिट गराउन कति सहज भयो ?
मलाई कुनै कठिनाइ भएन। सबै कलाकारले मनपर्ने र चुनौतीपूर्ण पात्रमा काम गर्नुभएको छ। पर्दामा फिल्म आएपछि दर्शकले त्यो सहजै महसुस गर्नुहुनेछ। रेगुलर गर्दै आएका भूमिकाभन्दा फरक र प्रभावशाली पात्र भएकाले सबै कलाकार खुसी नै हुनुहुन्छ।
पछिल्लो समय डेब्यु निर्देशकको भीड बढेको छ। तर धेरैजसो निर्देशक आएजसरी हराइरहेका छन्। डेब्यु निर्देशकको हैसियतले रिलिजपछि आफूलाई कहाँ देख्नुहुन्छ ?
सबैको यात्रा र गन्तव्य फरक हुन्छ। मेरो योगदान पनि फरक हुनेछ। म आफूलाई लामो यात्राका लागि तयार गरिरहेको छु। मलाई न रातारात चम्किनु छ, न त हराउनु छ। निरन्तर अघि बढिरहनु छ।

प्रेम, धोका र बदलाको विषय नेपाली फिल्ममा नयाँ होइन। दर्शकलाई होल्ड गर्ने ‘जादु’ के छ यस फिल्ममा ?
विषयवस्तु नयाँ नहुन सक्छ, तर प्रस्तुति नयाँ छ। पात्रका संवेग र भावनाहरू निकै संवेदनशील छन्। यही पक्षले दर्शकलाई फरक अनुभव दिनेछ भन्ने विश्वास छ।
अन्तमा, ‘द ब्लू लाइट’को हिरो बेनिशा हुन् कि अर्पण ? कि अरू नै कोही ?
यस फिल्ममा बेनिशा र अर्पण दुवै हिरो हुन्। कथा उहाँहरूकै वरिपरि घुम्छ, जुन ट्रेलरमा पनि देखिसक्नुभएको छ। बाँकी कुरा माघ १६ गते हलमै गएर हेर्नुहोस्।