सुचना, समाचार र मनोरन्जन

पर्यटकमैत्री जानकारीमूलक क्यूआर कोर्ड सेवा शुभारम्भ, पर्यटक सुरक्षामा प्रविधिको प्रयोग

पोखरा,

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा पर्यटकलाई सुरक्षित, सहज तथा प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले पर्यटकमैत्री जानकारीमूलक QR Code सेवा शुभारम्भ गरिएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जी.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला निकाय, पर्यटन व्यवसायी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमसँगै पर्यटन सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया पनि गरिएको थियो।

Chaka Panja

शुभारम्भ गरिएको QR Code मार्फत स्वदेशी तथा विदेशी पर्यटकहरूले नेपाल प्रहरीका आपत्कालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षा सम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण तथा अन्य उपयोगी सूचनाहरू मोबाइलबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसबाट पर्यटकलाई आवश्यक सूचना छिटो उपलब्ध गराउँदै सुरक्षित र सहज यात्रामा सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा पर्यटन सुरक्षालाई थप प्रभावकारी बनाउने, पर्यटकमैत्री वातावरण सिर्जना गर्ने तथा नेपाल प्रहरी र पर्यटन क्षेत्रबीचको समन्वयलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो। सहभागीहरूले पर्यटनको दिगो विकासका लागि सुरक्षा निकाय, स्थानीय सरकार, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालाबीच आपसी सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई, परिषद्का महासचिव जीवनराज सापकोटा, होटल एसोसिएसन नेपाल (HAN) पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAN) पोखराका अध्यक्ष कृष्णप्रसाद आचार्य, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, विभिन्न पर्यटन व्यवसायी संघ–संस्थाका पदाधिकारी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीका प्रमुख गोविन्दराज काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.