सुचना, समाचार र मनोरन्जन

कवि तथा गीतकार उमा श्रेष्ठको कवितासंग्रह ‘मौन छ देश’ र दुई गीत सार्वजनिक

काठमाडौं :

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह ‘मौन छ देश’ र दुई गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। कवि उमा श्रेष्ठकी ममतामयी आमा दिलमाया श्रेष्ठको सभापतित्व एवं प्रतिष्ठित कवि तथा गीतकार चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा सोही कृतिहरु सार्वजनिक गरिएको हो।

ब्राइड एकेडेमी एण्ड मिडिया प्रा.लि.को आयोजनामा भएको उक्त कार्यक्रममा आयोजक संस्थाको तर्फबाट अध्यक्ष प्रतिमा राईले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रमको संचालन गीतकार तथा पत्रकार सुमन पण्डितले गर्नुभएको थियो। ‘मौन छ देश’ कवितासंग्रह सार्वजनिक पछि पुस्तकमाथि समीक्षा गर्दै डा.शैलेन्दुप्रकाश नेपालले नारी समवेदना, देशप्रेम र मायाप्रेमलाई शब्द शील्पमार्फत् कवितासंग्रह तयार भएको बताउँदै कवि उमा श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले कविता लेखनसँगै गीति लेखन, गायन र संगीत सिर्जनामा पनि उत्तिकै पोख्त भएको हुँदा बहुप्रतिभाले भरिपूर्ण रहेको बताउनुभयो ।

गीतकार उमा श्रेष्ठले कविता लेखन र गीतसंगीतको यात्रामा आफ्नो प्रारम्भ भएको बताउँदै कवितासंग्रह र गीत निर्माणका अनुभवहरु सुनाउनुभएको थियो । उहाँले आमालाई सभापति बनाएर सिर्जना सार्वजनिक गर्न पाउँदा खुशी मिलेको र परिवारबाट पनि उर्जा मिलेको कारण यात्रले निरन्तरता पाउने बताउनुभयो । कार्यक्रममा आफ्ना अनुभवहरु सुनाउँदै गर्दा उहाँ भावबिह्वल समेत बन्नुभयो ।

त्यस्तै कार्यक्रमलाई चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण प्रधानले कवि तथा गीतकार उमा श्रेष्ठका सिर्जनाले आफूलाई प्रभावित बनाएको र उत्कृष्ट सिर्जना रहेको बताउनुभयो । गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले गीतकार उमा श्रेष्ठका सिर्जना अब्बल रहेको बताउँदै गायन र संगीत सिर्जनामा पनि उहाँको यात्रा सफल हुने बताउनुभयो । अध्यक्ष थापाले उमा श्रेष्ठको कविता लेखनले देशप्रेम, सामाजिक परिवेश र नारी समवेदनालाई उजागर गरेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि चूडामणि देवकोटाले गीतकार उमा श्रेष्ठलाई बधाई दिँदै अमर यात्राको बाटो रोज्नुभएकोमा शुभकामना दिनुभयो । कवि तथा गीतकार उमा श्रेष्ठलाई पारिवारिक रुपमा मिलेको सपोर्टले ऐतिहासिक कार्य भएको बताउँदै कविता, गीत र संगीत सिर्जनाको पाटो अँगाल्नुभएकोमा सुखद यात्राको थालनी भएको बताउनुभयो । त्यस्तै कार्यक्रमका संयोजक आइतमाया थेवे स्मृति प्रतिष्ठिानका अध्यक्ष अर्जुन थेवेले जीवनसंगीनी उमा श्रेष्ठको यात्रामा साक्षी बन्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले जागिरे जीवनसँगैका अनुभव, सामाजिक परिवेश र देशको विगत र वर्तमानलाई कविता संग्रहभित्र समावेश गरिएको बताउनुभयो । कार्यक्रममा कवि तथा गीतकार उमा श्रेष्ठ र अर्जुन थेवेको सुपुत्र आदित्य थेवेको जन्मदिनको केक काटेर शुभकामना आदान प्रदान गरिएको थियो ।

सार्वजनिक भएको दुई गीतमध्ये तीज गीत नाचौं छमछमीमा गायिका उमा श्रेष्ठ र गायक सुमित खड्काको स्वर रहेको छ । गीतको शब्द संगीत विपिन आचार्यको रहेको छ । त्यस्तै ए माया लाउँछौ कि’मा शब्द संगीत र स्वर उमा श्रेष्ठको रहेको छ भने सुमित खड्काले स्वरमा साथ दिनुभएको छ । गीतको भिडियोलाई उमा श्रेष्ठको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको छ ।

Leave A Reply

Your email address will not be published.