सुचना, समाचार र मनोरन्जन

‘ऊनको स्वीटर’ चौथो हप्तामा प्रवेश : ग्रस कलेक्सन १० करोड नाघेको निर्माण टिमको दाबी

काठमाडौं :

चौथो हप्तामा प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ १० करोड कलेक्सन गरेको छ।। आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यस चलचित्रले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले दाबी गरेको हो।

प्रदर्शनको चौथो हप्तामा प्रवेश गरिसक्दा पनि फिल्मले देशभर १०० भन्दा बढी शो पाएको छ, जुन कुनै पनि नेपाली फिल्मका लागि उल्लेखनीय मानिन्छ। नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्मले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रियासहित दर्शकको साथ पाउँदै आएको छ। देशभरका सिनेमा घरहरूमा लगातार हाउसफुल शो दिँदै आएको फिल्मले दर्शकलाई कथावस्तु, संवाद, अभिनय र निर्देशनका हिसाबले तानेको छ।

फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु,भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ। समीक्षकदेखि सर्वसाधारण दर्शकसम्मबाट पाइरहेको प्रशंसा र सकारात्मक समीक्षाले गर्दा फिल्मको चौथो सातासम्मको यात्रालाई उल्लेखनीय बनाएको हो।

हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक गरिएको छैन। तर विदेशमा पनि फिल्मले लगातार राम्रो प्रदर्शन गरिरहेको छ। नेपाली फिल्म उद्योगका लागि पछिल्लो समयको व्यावसायिक र समीक्षात्मक रूपमा सफल फिल्म बन्न पुगेको छ।

देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले व्यापारको आधारमा यो फिल्मलाई सुपरहिटको ट्याग दिएको छ। यसै वर्षको यो पहिलो सुपरहिट फिल्म समेत बनेको छ।

Leave A Reply

Your email address will not be published.