काठमाडौं :
राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘इश्वर’को सेन्सर पास भएको छ। सेन्सर बोर्डले फिल्मलाई पिजी सर्टिफिकेट दिएको हो। अब यो फिल्मलाई हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकाले अभिभावक सहित हलमा जानुपर्ने छ।
निर्माण टिमले सेन्सर पास भएलगत्तै फिल्मको प्रिमियर घोषणा गरेको छ। २६ गते सेन्सर पास भएको यस फिल्मलाई वैशाख २९ गते भोली पोखरामा प्रिमियर गर्न लागेको हो। निर्देशक गिरीले प्रिमियर शो पोखराको चिप्लेढुंगामा हुने जानकारी दिएका छन्। उनका अनुसार चिप्लेढुंगास्थित पोखराको ट्रेड मल सिनेप्लेक्समा विहान ११ बजे फिल्मको प्रिमियर शो हुने भएको हो।
आगामी मंसिर १४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्ममा पात्रहरुको मनोदशा प्रस्तुत गरिएको छ। पृथ्वीराज प्रसाईं रिसाहा मुद्रामा चित्रित छन् भने अभिनेत्री अनु शाह घाइते अवस्थामा प्रस्तुत छिन्। फिल्मले अपराधको कथा बोल्ने पोस्टरले सार्वजनिक गरेको ईश्वर दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको हो जसमा निर्माता हरिबहादुर थापा र शंकर गिरी हुन् भने पटकथा तथा संवाद भोजराज देवकोटाको रहेको छ ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारी लगायतको पनि अभिनय छ । यो फिल्मबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि कमब्याक गरेकी छन् । पछिल्लो पटक उनी ‘पसिना’मा देखिएकी थिइन् ।
अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमालाई उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।