काठमाडौं :
गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मा अभिनय गर्ने मुख्य कलाकारहरुको लाइन अप सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मका कलाकारहरुको टुङ्गो लगाएको हो।
संगीतकार बुढाथोकीले आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म निर्माण गर्न लागेको हुन्। यस फिल्ममा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । फिल्म अशोक दर्जीसँगै सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा लगायतका कलाकारको अभिनय रहने निर्माण टिमले जानकारी दिएको छ। अन्य केहि प्रमुख कलाकारहरु अझै फाइनल हुन बाँकी रहेको र अब केहि दिनमा नै फाइनल हुने बुढाथोकी बताए।
फिल्मको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । छिट्टै फ्लोरमा जाने फिल्मलाई सौरभ लामाले छायांकन गर्नेछन्। सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्मलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ। अशोक दर्जीलाई अध्ययनका लागि काठमाडौं ल्याएर अभिभावकत्व समेत दिइरहेका टंक बुढाथोकीले दर्जनौं चलचित्रमा शब्द, संगीत र स्वर दिएका छन्। यस फिल्ममा पनि टंक बुढाथोकी को संगीत रहनेछ।