सुचना, समाचार र मनोरन्जन

विष्णु थापा ‘विछोड’को ‘नीलो माइक्रोजस्तो नदी’ कविता कृति लोकार्पण

काठमाडौं :

विष्णु थापा ‘विछोड’को ‘नीलो माइक्रोजस्तो नदी’ कविता कृति लोकार्पण भएको छ। शनिबार लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा हामी र हाम्रो कृति समाजद्वारा आयोजित कार्यक्रममा प्राडा रामप्रसाद ज्ञवाली, डा कौशिला रिसाल, डा विनोद मञ्जन, प्राडा गोविन्दमान सिंह कार्की, रामेश्वर श्रेष्ठ, मदन नेपालका अतिरिक्त स्वयम् कवि विछोड लगायतले कृतिको लोकार्पण गरेका हुन् ।

‘नीलो माइक्रोजस्तो नदी’ हामी र हाम्रो कृति समाजको १८ औं कृति र प्रथम कविताकृति भएको सभापति एवम् हामी र हाम्रो कृति समाजका अध्यक्ष समेत रहेका मुक्तककार मदन नेपालले बताए। कार्यक्रममा प्रमूख अतिथी प्राडा रामप्रसाद ज्ञवालीले स्रस्टा र द्रष्टाको सम्बन्ध फूल र काँडाको जस्तो हुने बताए। काँडाले घोच्छ तर त्यही काडाँले फूलको सुरक्षा पनि गरिरहेको यथार्थलाई मनन सबैले गर्न नसक्ने ज्ञवालीले औंल्याए । नेपाली साहित्यजगतमा समालोचक र स्रस्टाविच दरार जस्तो आइरहेकोप्रति लक्षित गर्दै स्रस्टा आँखा र समालोचक हात जस्तै भएको उनको तर्क थियो । ‘हातमा चोट लाग्दा आँखाबाट किन आँसु आउँछ रु आँखामा धुलो पर्दा या आँसु आउँदा आँखाले नै धुलो झिक्न या आँसु पुछ्न सक्दैन । यसको लागि हात नै चाहिन्छ नि ।’
डा ज्ञवालीले भने( ‘समालोचकले सिर्जनाको गहिराईमा पुगेर समालोचना गर्न आवश्यक रहेको र आलोचनात्मक विवेकसहितको समिक्षाले सर्जकलाई नयाँ विचार या नयाँ बाटो दिन्छ ।’

दीपप्रज्वलनसहित समुद्घाटन गरिएको लोकार्पण कार्यक्रममा डा विनोद मञ्जनले कृतिमाथि समीक्षा गरे । मञ्जनले साहित्य समाजको दर्पण मात्र नभएर समाजलाई नयाँ दिशा प्रदान गर्ने वैचारिक औजार भएको बताए । वर्तमान समयमा कृतिको सटिक समालोचना हुन नसकेको औंल्याउँदै डा मञ्जनले कि प्रशंसा नै प्रशंसा हुने गरेको कि त भए नभएको गल्ती देखाउने वा आलोचनामाथि आलोचना हुने परम्परा जस्तो नै बनेकोमा गहिरो चिन्ता व्यक्त गरे । यस्तो प्रवृतिले स्रस्टा कमजोर साहित्य सिर्जनामा रमाईरहेको र नेपाली साहित्यभण्डार थप समृद्ध हुन नसक्ने तर्क गरे । भाषागत शुद्धाशुद्धी, विम्बरप्रतिकको उचित संयोजन कवितामा अति आवश्यक रहेको समेत औंल्याए । मञ्जनले भने( ‘रस, अलंकार, ध्वनी कविताको आभुषण हुन् । यसमा समेत कविले विशेष चेतसहित कलम चलाउनुपर्छ ।’ ‘कविता कस्तो हुनुपर्छ रु’ उदाहरण स्वरुप एउटा कविता सुनाउँछु भन्दै समिक्षक मञ्जनले थापाको कविताकृति ‘नीलो माइक्रोजस्तो नदी’बाट एक कविता समेत सुनाए ।

कार्यक्रममा कवि प्रोल्लास सिन्धुलीयले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै ‘कविता कस्तो हुनुपर्छ रु’ भनेर समालोचकलाई सिद्धान्त दिने पनि कविले नै भएको बताए । छन्दमा लेखिएको कविता परम्परा गद्य हुँदै विभिन्न स्वरुपमा आउँदा रचनाकारकै सिर्जनाले नै सिद्धान्तको निर्माण गरेको र समालोचकले पछि मात्र तीनको व्याख्या गर्ने काम गरेको उल्लेख गरे । स्रस्टाले नयाँ सिद्धान्तकै आविष्कार गर्ने तहबाट सिर्जना गर्न सके सिर्जनाको आयू दिर्घकालसम्म रहने उनले दाबी समेत गरे ।

कार्यक्रममा कवि विष्णु थापा ‘विछोड’लाई नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य डा कौशिला रिसाल, साहित्यकार प्रोल्लास सिन्धुलीय, लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ ‘शैलेन्द्र’, प्राडा गोविन्दमान सिंह कार्की लगायतले बधाई तथा कृति सफलताको शुभकामना दिए । लोकार्पण समारोहमा भुवन शिवाकोटी ‘चौघरे’ले प्रकाशित कवितासंचयन ‘नीलो माइक्रोजस्तो नदी’बाट ‘यात्रा’ र राधा दुलाल कार्कीले ‘मनको आकाश’ शिर्षकका कविता प्रस्तुत गरे ।

सुशिला खड्का ‘हसिना’ले संचालन गरेको कार्यक्रममा समाजका सचिव बद्री उप्रेतीले सहभागीहरूलाई स्वागत गरेका थिए । मुक्तककार उप्रेतीले स्वागत मन्तव्यका क्रममा ‘नीलो माइक्रोजस्तो नदी’ हामी र हाम्रो कृति समाजबाट प्रकाशनमा आएको १८ औं कृति भएको उल्लेख गर्दै गतसाल १४ कृति विमोचन भएकोमा यससाल प्राविधिक कारणवश कम कृति प्रकाशन भएको र आगमी समय हरेक महिना तेस्रो शनिबार एक कृति ल्याउन प्रयास समेत हुने बताए।

समाजले पारदर्शीरुपमा कृति प्रकाशन गरेकोले समाजमा जोडिएर निरन्तर सिर्जनाकर्ममा रमाउँदै कृति प्रकाशनका लागि समेत उप्रेतीले आह्वान गरे । कवि विष्णु थापा ‘विछोड’ले आफ्ना कविता आफ्नै जीवन भोगाई, आफ्नै समाज र आँफू बाँचिरहेको समाज भएको बताए ।

Leave A Reply

Your email address will not be published.