सुचना, समाचार र मनोरन्जन

गीत रिलिजको पूर्वसन्ध्यामा ‘फेरि रेशम फिलिलि’ले दोश्रो पोस्टर रिलिज

काठमाडौं :

गीत रिलिजको पूर्वसन्ध्यामा ‘फेरि रेशम फिलिलि’ले दोश्रो पोस्टर रिलिज गरेको छ। निर्माण टिमले पहिलो गीत ‘फेरि जालमा’सार्वजनिक गर्न लागेको अघिल्लो गीत पोस्टर सार्वजनिक गरिएको हो। सो गीतको अडियो भिडियोको सानो झलक निर्माणपक्षले रिलिज गरिसकेको छ।

आज सार्वजनिक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार विनय श्रेष्ठ, कामेश्वर चौरसिया तथा सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ। पोस्टरमा विनयलाई भूँईमा पछारिएको अवस्थामा हातमा पासपोर्ट देखाइरहेको देख्न सकिन्छ भने उनीमाथी अभिनेत्री सुपुष्पाले आक्रोशपूर्ण शैलीमा बन्दुक ताकिरहेको र कामेश्वरले दुई हात जोडेर माफी मागिरहेको देख्न सकिन्छ। पोस्टरको नेपथ्यमा नेपालको धरहरा र अमेरिकाको ‘स्ट्याचु अफ लिबर्टी’ देखाइएको छ।

पोस्टरमा विनयमाथि सुपुष्पाले तेर्स्याएको बन्दुकको रहस्यमा नै सिनेमाको कथा बुनिएको बुझ्न सकिन्छ। योसँगै पोस्टर हेर्दा धेरै नेपालीको स्वप्न मुलुक अमेरिकाप्रतिको आशक्ति, आकर्षणलाई पारिवारिक तथा सामाजिक चक्षुबाट सिनेमाले नियाल्न खोजेको समेत बुझ्नसकिन्छ। दोस्रो पोस्टरमा सिनेमाका सवै कलाकारलाई क्यारेक्टर लुक्समा देखाइएको छ। सिनेमाको कथा आफ्नो पूर्व सिक्वलझैं मनोरञ्जनको पूर्ण प्याकेज हुने अनुमान गर्न सकिन्छ ।

यो सिनेमालाई निरज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन्। सिनेमामा विनय, सुपुष्प, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ। यो सिनेमामा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह(निर्मातामा एनि थापा छन्। यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।

Leave A Reply

Your email address will not be published.