काठमाडौं : ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा(३ स्थित वाम्ड्याल(उँबु)मा निर्माण गरिएको किरात वाम्बुले राईहरुको सांस्कृतिक प्रतिक ‘स्वालेवा स्तम्भ पार्क’को औपचारिक उद्घाटन भएको छ।
आज(आइतबार) वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र वाम्बुले राई समाज, नेपाल(वाम्रासका अध्यक्ष गजुरधन राईबाट संयुक्त रुपमा स्वालेवा स्तम्भ पार्क उद्धघाटन भएको हो।
उक्त स्वालेवा पार्कको उद्धघाटन गरेपछि वनमन्त्री शाही ठकुरीले सरकारले सबैको भाषा,धर्म र संसारको सरक्षण गर्ने प्रतिबद्धता जनाए। ‘यो ठाउँ एतिहासिक स्थल हो,यो धरोहरमा स्वालेवा स्तम्भ निर्माण भएको छ,’उनले भने,‘यो स्वालेवा स्तम्भ बनेको वाम्बुले समुदायलाई बधाइसँगै उत्तरउत्तरको कामना गर्दछु,सरकारले सबैको भाषा, धर्म संरक्षण गर्छ।’
उनले वाम्बुले राई समुदायको भाषा,संस्कारसँग भावना जोडिएको बताउँदै उठेको मागमुद्धा सम्बोधन गर्ने पनि बताए। उनले भने,‘तपाइहरुले उठाउनु भएको माग मैले टिपेको छु,यहाँको भाषा,संस्कार र ठाउँसम्म भावना जोडिएको छ।’
गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले गाउँपालिकाभित्र रहेका सबै जातिहरुको भाषा,संस्कार र संस्कृतिको संरक्षण गर्दै आएको बताए। उनले भने,‘गाउँपालिकाभित्रको भाषा,संस्कार र संस्कृतिको संरक्षण गर्ने दायित्व हाम्रो हो,त्यसैले जगेर्ना गर्दै आएका छौँ,लिब्जु सामाथानको संरक्षण पनि गर्दै आएका छौँ।’
वाम्रासका अध्यक्ष राईले वाम्रासले वाम्बुले राईहरूको भाषा, धर्म, संस्कार, संस्कृति, रहनसहन र पुर्ख्यौली विरासत झल्काउने गरी निर्माण गरिएको स्वालेवा पार्कले यसको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिए। नेपाल(वाम्रासले उँबुमा ३५ फिट अग्लो स्वालेवा (चिण्डो) निर्माण गरेको छ। किराती संस्कृतिअनुसार चिण्डो (स्वालेवा) र अदुवा धर्मकर्म र मृत्युकर्ममा अनिवार्य मानिन्छ।
२०७४ असार २२ गते मानेभञ्ज्याङ गाउँपालिकाका तत्कालीन अध्यक्ष मोतिराज राई र उपाध्यक्ष सबिता राईबाट स्वालेवा पार्क निर्माणको शिलान्यास भएको थियो। ‘वाम्बुले राईको उत्पत्ति थलो वामड्याल जाऔं, रितुम मुक्तुम र स्वालेवाको गरिमा बुझौं’ भन्ने नारासहित भएको उद्घाटन समारोहमा ओखलढुंगाका संघीय सांसद रामहरि खतिवडा,पूर्व संघीय सांसद यज्ञराज सुनुवार,पूर्व कोशी प्रदेशमन्त्री प्रदिप सुनुवार,राष्ट्रियगानका रचनाकार व्याकुल माइला लगायतको उपस्थिति थियो।