सुचना, समाचार र मनोरन्जन

‘मोहर’ हेर्दा दर्शकलाई ‘सुनको मोहर’ जित्ने अवसर

काठमाडौं :

साउन २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मोहर’ले बक्स अफिसमा ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै वर्षको दोस्रो हिट फिल्म बन्न सफल भएको छ।

फिल्मको निर्माणपक्षले दर्शकका लागि ‘सुनको मोहर’ जित्ने योजना सार्वजनिक गरेको छ। भदौ २३ देखि असोज ११ गतेसम्म देशका चार वटा हलमा फिल्म हेर्ने दर्शकहरूमध्ये ९ जनाले सुनको मोहर जित्नेछन्।

पुरस्कार वितरण हुने हलहरूमा चितवनको म्याङ्गो जन ज्योती सिनेमा, काठमाडौंको समाखुशीस्थित क्यूएफएक्स स्क्वायर मल, किर्तिपुर सिनेप्लेक्स र न्युरोडको रञ्जना सिनेप्लेक्स छन्। म्याङ्गोमा ३ जना, स्क्वायर मलमा २ जना, किर्तिपुर सिनेप्लेक्समा २ जना र रञ्जनामा २ जना गरी कुल ९ जना विजेता छनोट हुनेछन्।

दर्शकले आफ्नो नाम र मोबाइल नम्बर फिल्मको टिकटको पछाडि लेखी हलमा राखिएको बक्समा खसाल्नुपर्नेछ। भदौ २३ भन्दा अगाडि फिल्म हेरेका दर्शकले पनि टिकट सुरक्षित राखेमा योजनामा सहभागी हुन सक्ने निर्माणपक्षले जानकारी दिएको छ। विजेताहरूलाई फिल्म प्रदर्शनको ५१ दिने अवसरमा आयोजना गरिने कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ।

ओम प्रतिकद्वारा लेखन तथा निर्देशन गरिएको ‘मोहर’ चुम्बन जंग शाहीले निर्माण गरेका हुन्। फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, रविन्द्र झा र सारा शर्माको अभिनय रहेको छ। फिल्म मेकर्स प्रा.लि.ले फिल्म निर्माण गरेको हो।

Leave A Reply

Your email address will not be published.